२०८२ चैत ८ आइतबार

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

  • admin २०८२ जेठ ४ शनिवार

काठमाडौं – रुस र युक्रेनबीच टर्किएको राजधानी इस्तानबुलमा वार्ता भएको छ । दुई देशबीच युद्ध शुरू भएको झन्डै तीन वर्षपछि रुस र युक्रेनका अधिकारीबीच आपसी छलफल भएको हो । यो वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । वार्तामा रुस र युक्रेनले एकरएक हजार युद्धबन्दी रिहा गर्ने सहमतिसमेत गरेका छन् ।

वार्तापछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले यो सहमति अनुसार एक–एक हजार युद्धबन्दीलाई रिहा गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै रुसको वार्ता टोलीको नेतृत्व गर्नुभएका भ्यादिमिर मेडिन्स्कीले वार्ताबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । उनले रुस आउँदा दिनमा हुने वार्ताका लागि पनि तयार रहेको बताए ।

युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्त राखेको थियो । रुस र युक्रेनबीचको वार्ताका लागि टर्किएले मध्यस्थता गरेको हो ।

यसअघि यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुने भनिएको थियो तर अन्तिम समयमा उनीहरु उपस्थित भएनन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नै शान्ति वार्ताका लागि प्रस्ताव गरेपछि दुई देशबीच युद्ध रोकिने आशा जगाएको थियो ।

सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । पछिल्लो ३ वर्षमा रुस–युक्रेन युद्धमा हजारौं सेना र सर्वसाधारण मारिएका छन् ।