२०८२ चैत ८ आइतबार

अष्ट्रेलियामा साइबर ठगीको नयाँ लहर – अष्ट्रेलिया पोस्टद्वारा सावधानी अपनाउन आग्रह

  • admin २०८२ जेठ ४ शनिवार

अष्ट्रेलिया –अष्ट्रेलिया पोस्टले हालै साइबर अपराधीहरूले देशभरि ठगीको नयाँ तरिका अपनाएको जानकारी दिएका छन्। “पार्सल डेलिभरीको नाउँमा मोबाइल र इमेलमार्फत नक्कली सन्देश पठाइरहेका छन्,” अष्ट्रेलिया पोस्टले जनाएको छ।

यी सन्देशहरू देख्नमा सामान्य सूचना जस्तो लाग्छ – “तपाईंको पार्सल डेलिभरी भइरहेछ, कृपया ट्र्याक गर्न यहाँ क्लिक गर्नुहोस्” भन्ने लिंकसहितका सन्देशमार्फत प्रयोगकर्तालाई झुक्याइन्छ।
तर, जब प्रयोगकर्ताले उक्त लिंक खोल्छन्, उनीहरूको व्यक्तिगत विवरण, बैंक खाताका जानकारी, र मोबाइल डाटा चोरी हुन्छ। कतिपय अवस्थामा बैंक खाता नै खाली भएको पीडितहरू बताउँछन्।अष्ट्रेलिया पोस्टको नाम दुरुपयोग गरी बढ्दो स्क्यामको यो नयाँ तरिकाले हजारौंलाई फसाइरहेको छ।

साइबर सुरक्षा विज्ञहरूका अनुसार, यस्ता सन्देशहरूमा क्लिक नगर्नु, आधिकारिक वेबसाइट वा एप प्रयोग गर्नु र शंकास्पद गतिविधिबारे तुरुन्त रिपोर्ट गर्नु आवश्यक छ। अष्ट्रेलिया पोस्टले सार्वजनिक रूपमा जनाएको छ कि: “हामी कहिल्यै मेसेज, इमेल वा फोनमार्फत व्यक्तिगत विवरण वा बैंक जानकारी माग्दैनौं। ट्र्याक गर्न केवल हाम्रो आधिकारिक एप वा वेबसाइट प्रयोग गर्नुहोस्।” साथै अष्ट्रेलिया पोस्टले सबैलाई सचेत गराउँदै भनिएको छ कि यदि कुनै सन्देश वा इमेल शंकास्पद लागेमा त्यसमा क्लिक नगरी तुरुन्त delete गर्नुपर्छ, र आवश्यक परे ReportCyber वेबसाइटमा उजुरी गर्न सकिन्छ।

विदेशमा रहेका नेपाली विद्यार्थी, कामदार तथा परिवारहरू यस स्क्यामको निशानामा पर्न सक्ने भएकाले नेपाली समुदायबीच सचेतना अभिवृद्धि अत्यावश्यक छ। धेरै नेपालीहरू अष्ट्रेलिया पोस्ट प्रयोग गर्ने र अनलाइन सामान मगाउने भएकाले यस्ता सन्देशप्रति सजग रहनुपर्ने विज्ञहरू बताउँछन्।

यसरी सावधानी अपनाउन सकिन्छ:
• नचिनेको नम्बर वा इमेलबाट आएको पार्सल सन्देश नखोल्नुहोस्
• ‘AusPost’ नाम देखिए पनि, लिंक हेरी मात्र निर्णय लिनुहोस्
• ट्र्याक गर्न AusPost App वा वेबसाइट मात्र प्रयोग गर्नुहोस्
• स्क्यामको आशंका भए reportcyber.gov.au मा उजुरी दिनुहोस्।