अष्ट्रेलिया — संसारभरिका ठूला शहरहरूको सामाजिक, आर्थिक र पर्यावरणीय समग्रतामा आधारित मूल्याङ्कन गर्दै, Oxford Economics ले हालै सार्वजनिक गरेको २०२५ को Global Cities Index मा मेलबर्न र सिड्नी शीर्ष १० शहरमा समावेश भएका छन्।

यस वर्षको सूचकांकमा न्यूयोर्क फेरि एकपटक शीर्ष स्थानमा रहँदा, लन्डन र पेरिस क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्। यसले पुष्टि गर्छ कि यी सहरहरू अझै पनि विश्व स्तरका आर्थिक, शैक्षिक र प्रशासनिक केन्द्रको रूपमा टिकिरहेका छन्।
Oxford Economics ले १,००० ठूला शहरहरूलाई पाँच प्रमुख मापदण्डहरू अर्थशास्त्र, मानव पूँजी, जीवनस्तर, वातावरण, र शासन व्यवस्थाका आधारमा मूल्याङ्कन गरी Global Cities Index तयार गरेको हो। यस सूचकांकले शहरहरूलाई भविष्यका लागि तयार पार्न व्यवसाय, नीति निर्माता र सर्वसाधारणलाई निर्णय लिन आवश्यक गहिरो जानकारी उपलब्ध गराउँछ।
अष्ट्रेलियाली शहरहरूको उकासिने यात्रा-अष्ट्रेलियाका तर्फबाट मेलबर्नले छैठौं स्थान प्राप्त गर्दै देशकै सबैभन्दा उच्च स्थानमा पुग्यो, भने सिड्नी सातौं स्थानमा रह्यो। विगत वर्षमा सिड्नी १६औं स्थानमा थियो, जसबाट यसले उल्लेखनीय उछाल लिएको देखिन्छ।
Oxford Economics का अनुसन्धान अनुसार, मेलबर्नले विशेष गरी शिक्षा, जीवनस्तर र आर्थिक विविधता मा उच्च अंक प्राप्त गर्यो भने सिड्नीले सरकारी सेवा र मानव पूँजी को क्षेत्रहरूमा राम्रो सुधार देखाएको हो।
सूचीका अन्य शीर्ष शहरहरूमा सान होसे, सिएटल, बस्टन, टोकियो र सान फ्रान्सिस्को पनि परेका छन्। यी सहरहरूले प्रविधि, नवप्रवर्तन, र दिगोपन मा महत्वपूर्ण स्थान बनाएका छन्।
मेलबर्न र सिड्नीको यो उपलब्धिले अष्ट्रेलियाको शहरी व्यवस्थापन, जीवनस्तर र दिगो विकासको सफल मोडेल देखाउँछ। यी शहरहरूको निरन्तर सुधारले विश्वमञ्चमा अष्ट्रेलियालाई अझ सशक्त रुपमा प्रस्तुत गरिरहेको छ।
शीर्ष १० शहरहरूको सूची (२०२५)
1. न्यूयोर्क, अमेरिका
2. लन्डन, बेलायत
3. पेरिस, फ्रान्स
4. सान होसे, अमेरिका
5. सिएटल, अमेरिका
6. मेलबर्न, अष्ट्रेलिया
7. सिड्नी, अष्ट्रेलिया
8. बोस्टन, अमेरिका
9. टोकियो, जापान
10. सान फ्रान्सिस्को, अमेरिका
अन्य अष्ट्रेलियन शहरहरूको स्थान
• ब्रिसबेन: २३औं स्थान
• पर्थ: ३१औं स्थान
• क्यानबेरा: ५२औं स्थान
• एडिलेड: ५४औं स्थान
• गोल्ड कोस्ट: ६९औं स्थान

तपाइँको प्रतिक्रीया