अष्ट्रेलिया- सिड्नी – नेपाली मूलका वरिष्ठ मनोचिकित्सक डा. घनश्याम चापागाईंको नेतृत्वमा सिड्नीको बेला भिस्टामा ‘Bella Vista Psychiatry & Well-being Clinic’ सञ्चालनमा आएको छ। नेपाली समुदायका लागि आफ्नै भाषा, संस्कृति र समझदारीमा आधारित मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित क्लिनिक स्थापना गरिएको हो।

क्लिनिकले प्रारम्भमा बालिग तथा किशोर उमेर समूहलाई लक्षित गर्दै सेवा सुरु गरेको छ। सेवा लिनेहरूलाई गोपनीयता, सुरक्षा र सहज पहुँच सुनिश्चित गर्दै डिप्रेशन, चिन्ता, PTSD, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, ADHD, OCD, इटिङ डिसअर्डर लगायत मानसिक अवस्थाहरूको उपचार औषधि र परामर्श दुवै माध्यमबाट गरिन्छ।
डा. चापागाईं २० वर्षभन्दा बढी समयदेखि अष्ट्रेलियामा मानसिक स्वास्थ्य सेवा क्षेत्रमा क्रियाशील छन्। उनी Royal Australian and New Zealand College of Psychiatrists का फेलो हुन् र Kellyville Private Hospital का मेडिकल डाइरेक्टरसहित Nepean Blue Mountains तथा Tablelands Mental Health Services मा क्लिनिकल डाइरेक्टरको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
उनको साथमा अर्का नेपाली मूलका अनुभवी मनोचिकित्सक डा. विकास श्रेष्ठ पनि क्लिनिकमा कार्यरत छन्। १२ वर्षभन्दा बढी समयदेखि मनोचिकित्सामा संलग्न श्रेष्ठ University of Sydney मा क्लिनिकल लेक्चररको रूपमा कार्यरत छन् र प्रशिक्षार्थी मनोचिकित्सकहरूलाई मार्गदर्शन गर्ने सुपरभाइजर पनि हुन्। क्लिनिकको टिममा अन्य भाषाभाषी विशेषज्ञ, क्लिनिकल साइकोलोजिस्ट तथा सोसल वर्करहरू पनि रहेका छन्।
क्लिनिकले नेपाली जीपीहरू, NDIS कार्यक्रम, निजी तथा सार्वजनिक अस्पतालहरू र समुदायस्तरीय संस्थाहरूसँग सहकार्य गर्दै मानसिक स्वास्थ्यसम्बन्धी सेवाको पहुँच विस्तार गरिरहेको छ।
डा. चापागाईं भन्छन्, “हिजोको पुस्तामा मानसिक रोग लुकाउने प्रवृत्ति थियो, आजको पुस्तामा भने समयमै सहयोग खोज्ने सकारात्मक परिवर्तन देखिएको छ। प्रारम्भिक हस्तक्षेपले आत्महत्याजस्ता गम्भीर परिणाम रोक्न सक्छ।”
क्लिनिकमा छिट्टै Transcranial Magnetic Stimulation (TMS) र Esketamine जस्ता नवीनतम प्रविधिमार्फत उपचार सेवा सुरु गर्ने तयारी भइरहेको छ, जसले दीर्घकालीन र औषधिप्रति प्रतिरोध देखाउने अवस्थाका लागि नयाँ आशा जगाउने विश्वास व्यक्त गरिएको छ।
समुदायका अगुवाहरूलाई मानसिक स्वास्थ्यप्रति सकारात्मक सन्देश फैलाउन डा. चापागाईंले आग्रह गर्दै भने, “हामीलाई स्रोत व्यक्ति वा सहयोगीको रूपमा उपयोग गरेमा नेपाली समुदायले ठूलो लाभ लिन सक्छ।”
उनले थपे, “यदि तपाईंलाई चिन्ता, डिप्रेशन, ट्रमा वा सम्बन्धजन्य समस्यामा सहयोग चाहिएको छ भने, हाम्रो अनुभवी टिम तपाईंको मानसिक स्वास्थ्य यात्रामा हरेक पाइलामा साथ दिन तयार छ।”

तपाइँको प्रतिक्रीया