२०८२ चैत ८ आइतबार

गणेश पराजुलीको उम्मेदवारी घोषणा : अनुभव, समर्पण र दूरदृष्टिका साथ नेतृत्वको आकांक्षा

  • admin २०८२ जेठ १६ बिहीबार

एडिलेड, अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलिया राज्य समितिको आगामी कार्यकाल (२०२५–२०२७) का लागि गणेश प्रसाद पराजुलीले संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। झन्डै एक दशकभन्दा बढी समयदेखि प्रवासी नेपाली समुदायमा निरन्तर सक्रिय पराजुली अहिलेको कार्यकाल (२०२३–२०२५) मा सचिवका रूपमा कार्यरत छन्। उक्त जिम्मेवारीमा रहँदा उनले सामाजिक, सांस्कृतिक तथा सेवामूलक अभियानहरूमा अग्रसर भूमिका निभाउँदै समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाएका थिए।

उनको अनुभव, दृष्टिकोण र प्रतिबद्धता अहिलेको नेतृत्व आवश्यकताको सन्दर्भमा विशेष रूपमा सान्दर्भिक देखिन्छ। पराजुलीले अघिल्लो कार्यकालमा थालिएका कामलाई निरन्तरता दिँदै, प्रवासी नेपाली समुदायको थप आवश्यकता पहिचान गरी दीर्घकालीन र समावेशी योजना निर्माण गर्ने अठोट व्यक्त गरेका छन्। विशेष गरी नेपाली संस्कृति, भाषा, कला र परम्पराको संरक्षणमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने र दोस्रो पुस्तालाई नेपालीपनसँग जोडिराख्न बालमैत्री अभियानहरू अघि बढाउने उनको प्राथमिकतामा पर्छ।

अष्ट्रेलियाजस्तो विविधतायुक्त समाजमा नेपाली समुदायको मौलिक पहिचान झल्काउन उनले सांस्कृतिक भवन स्थापनाको अवधारणा अघि सारेका छन्, जसले नेपाली पर्व, धर्म, भाषा र संस्कृतिको अभ्यास र प्रसारलाई संस्थागत रूपमा अगाडि बढाउन मद्दत गर्नेछ। साथै, एडिलेडमा सक्रिय सम्पूर्ण नेपाली संघसंस्थासँग आपसी सद्भाव र सहकार्यमा जोड दिँदै उनले बहुसांस्कृतिक समाजमा नेपाल र नेपालीहरूको गरिमामय उपस्थिति सुनिश्चित गर्न चाहेका छन्।

उनले नयाँ आगन्तुक, विद्यार्थी तथा समस्यामा परेका व्यक्तिहरूलाई लक्षित गर्दै सहयोगी, सहज र सुरक्षित वातावरण निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्। संस्थागत पारदर्शिता र जवाफदेहिता कायम राख्ने अठोटसहित पराजुलीले एनआरएनएलाई सबैका लागि खुला, उत्तरदायी र विश्वासिलो बनाउने घोषणा गरेका छन्।

गणेश पराजुलीको अभियान केवल नेतृत्वको आकांक्षा होइन, बरु नेपाली समुदायको दीगो समृद्धि, सामाजिक एकता र संस्कारयुक्त पहिचानको निरन्तर यात्रामा साथ दिने गहिरो समर्पण हो। “यो मेरो व्यक्तिगत यात्रा होइन,” पराजुली भन्छन्, “यो हामी सबैको साझा सपना हो – जहाँ सबै नेपाली एकअर्काको साथमा, साझा उद्देश्यका लागि अघि बढ्छौं। म तपाईंहरूको सुझाव, समर्थन र आशीर्वादको अपेक्षा गर्दछु।”

उनले सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी नेपाली समुदायलाई अभियानमा सहभागी हुन, प्रतिक्रिया दिन र सँगै समावेशी, संगठित र उज्यालो नेपाली समाज निर्माणको यात्रामा सहकार्य गर्न हार्दिक आग्रह गरेका छन्।