एडिलेड- गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको संयोजक पदका लागि देवेन्द्र खरेलले आगामी कार्यकाल (२०२५–२०२७) का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। “सांस्कृतिक संकट: अब मौन बस्ने बेला होइन” भन्ने भावनात्मक र विचारशील नारासहित उनले विशेषगरी दोस्रो पुस्ता—विदेशमा जन्मेका वा हुर्केका नेपाली सन्तानहरू प्रति केन्द्रित योजनाहरू सार्वजनिक गर्दै नेतृत्वमा उभिन खोजेका हुन्।

उनले एनआरएनएको हालको गतिविधिमा पहिलो पुस्ताको सशक्त उपस्थिति र गौरवपूर्ण योगदानको उच्च मूल्याङ्कन गरे पनि दोस्रो पुस्ता क्रमशः संस्कृति, भाषा, चाडपर्व र सामूहिक पहिचानबाट टाढिँदै गएकोमा चिन्ता व्यक्त गरे। “हाम्रा सन्तानहरू दशैँ–तिहारभन्दा क्रिसमस, इस्टर र ह्यालोविनसँग बढी परिचित छन्, भाषा बिर्सँदै छन्, रीतिरिवाज ओझेलमा पर्दै गएका छन्,” खरेलले उल्लेख गरे, “यो केवल सांस्कृतिक संकट होइन, भविष्यमै हाम्रो उपस्थिति मेटिने खतरा हो।”
उनका अनुसार, एनआरएनएले विगत २२ वर्षमा पहिलो पुस्ताका नेपालीहरूलाई एकत्रित गर्न उल्लेखनीय काम गरे पनि नयाँ पुस्ताका लागि समर्पित कार्यक्रमहरूको कमी अझै स्पष्ट छ। “हामी अझै पनि गाला नाइट, पिकनिक र नेपाल महोत्सवमै रमाइरहेका छौँ,” उनले भने, “तर दोस्रो पुस्ता ती कार्यक्रमहरूबाट टाढिँदै गएको तथ्य हाम्रो नजरबाट छुट्न थालेको छ।” उनले पहिलो पुस्तामात्र केन्द्रित संरचनाले दोस्रो पुस्तालाई विमुख बनाइरहेको उल्लेख गरे।
पेशाले रजिस्टर्ड नर्स रहेका खरेल हाल NRNA SA मा पब्लिक अफिसरको जिम्मेवारीमा छन्। साथै नेपाली पाठशाला एडिलेडका उपाध्यक्षका रूपमा कार्यरत खरेलले आफूले विभिन्न संघसंस्थाको सहकार्यमा नेपाली समुदायलाई लक्षित अनुदान र परियोजनाहरू सञ्चालन गर्दै आएको जानकारी दिए। शिक्षा, संस्कृति र युवाहरूको सशक्तिकरणमा संलग्न रहँदै आएका खरेलले “सम्पर्क होइन, सम्वेदनाको पुल बन्ने” प्रतिबद्धता व्यक्त गरे।
उम्मेदवारी घोषणा गर्दै उनले दोस्रो पुस्ता र भविष्यलाई सम्बोधन गर्ने दीर्घकालीन योजनाहरू पनि सार्वजनिक गरे। सामाजिक सञ्जालमार्फत संस्कृति र भाषा सिकाउने Nepal Connect 2.0, अन्तरपुस्तीय सम्बन्ध सुदृढ गर्ने Roots & Wings Mentorship, र डिजिटल युगसँगै हाम्रा चेलीबेटीलाई प्रविधिमा नेतृत्व दिन NextGen Nepali Innovators कार्यक्रम उनका प्रमुख प्रस्ताव हुन्। यस्तै युवाहरूलाई नेपाल पठाएर चाडपर्व प्रत्यक्ष अनुभव गराउने Nepal Immersion Scholarship, विद्यालयमा नेपाली संस्कृति समावेश गर्ने अभियान र मानसिक सशक्तिकरणमा केन्द्रित Mind & Momo Wellness Hubs जस्ता अवधारणाले उनको उम्मेदवारीलाई नवीन र उद्देश्यपूर्ण बनाएको छ।
नवआगन्तुक नेपाली विद्यार्थीहरूका लागि आपतकालीन सहयोग र मार्गदर्शन दिने Bridge to Belonging कार्यक्रमसमेत उनले प्रस्तुत गरे। यस्ता कार्यक्रमलाई कार्यान्वयन गर्न उनले बजेट पुनःसंयोजन, क्राउडफन्डिङ, व्यवसायिक सहकार्य, र युवाहरूको नेतृत्वमा कार्यदल बनाउने योजना अघि सारेका छन्।
यद्यपि उनले नयाँ कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए पनि, एनआरएनएको हालसम्मका सम्पूर्ण कार्यक्रमहरूको निरन्तरता र सुदृढता पनि सुनिश्चित गरिने बताएका छन्। “नयाँ पुस्ता केन्द्रित कार्यक्रम ल्याउँदा विगतका सफल कामको निरन्तरता अझ महत्वपूर्ण छ,” उनले भने।
उनले सम्पूर्ण नेपाली समुदायलाई आगामी २६ जुलाई २०२५ शनिवार हुने मतदानका लागि Smart NRNA एप डाउनलोड गरी समयमै सदस्यता नवीकरण वा दर्ता गर्न अनुरोध गरेका छन्। साथै आफ्नो उम्मेदवारीप्रति सुझाव, समर्थन वा प्रतिक्रिया दिन चाहनेहरूले अनलाइन फाराममार्फत वा मोबाइल नम्बर ०४३३६१३७७७ मा सम्पर्क गर्न सक्ने उनले जनाएका छन्।
“NRNA केवल नेपालबाट भर्खर आएका नेपालीहरूको संस्था होइन,” खरेलले जोड दिए, “यो हाम्रा सन्तानहरूको पनि अभिभावक हुनुपर्छ। यदि हामीले आज दोस्रो पुस्तालाई समेटेनौं भने, भोली उनले हामीलाई र हाम्रो संस्थालाई चिन्दैनन्।”
उनको मूल मन्त्र स्पष्ट छ—“विलयबाट गौरवसम्म: प्रत्येक नेपालीको NRNA”।

तपाइँको प्रतिक्रीया