२०८२ चैत ८ आइतबार

सिड्नीमा ‘संस्कृतीमा अध्यात्मिकताको पहिचान’ कार्यक्रम हुने

  • admin २०८२ जेठ १७ शुक्रबार

सिड्नी, अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नीस्थित हस्र्टभिलमा ‘संस्कृतीमा अध्यात्मिकताको पहिचान’ नामक विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ। ब्रम्हकुमारी अस्ट्रेलियाको आयोजनामा तथा विभिन्न सामुदायिक संस्थाको समन्वयमा यही शनिबार (जुन १) सिभिक थिएटरमा कार्यक्रम आयोजना गरिन लागेको हो। कार्यक्रम दिउँसो १:३० बजे सुरु भई ३:३० बजेसम्म चल्नेछ।

कार्यक्रमको मुख्य उद्देश्य अध्यात्म र संस्कृतिको समायोजनमार्फत मानसिक स्वास्थ्य, आत्मिक शान्ति र सामुदायिक एकता प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्। कार्यक्रममा नेपाली परम्परागत कला, संस्कृति, भेषभूषा, तथा जातीय विविधतालाई समेट्ने विभिन्न सांगितिक, नृत्यात्मक तथा नाट्य प्रस्तुती समावेश गरिनेछ।

कार्यक्रम संयोजक शिशिर बिक्रम थापाका अनुसार मेडिटेसन, रुपक नाटिका, गीत-संगीत र नृत्यका माध्यमबाट दर्शकलाई आध्यात्मिक अनुभूति दिलाउने तयारी भइरहेको छ। यसै क्रममा सिड्नीस्थित लोकप्रिय नेपाली ब्याण्ड ‘आरम्भ’ ले समेत सांगीतिक प्रस्तुती दिनेछ।
आयोजकका अनुसार कार्यक्रममा न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजीव शर्मा, एनआरएनए ओसिनिया संयोजक दिनेश पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, पूर्व अध्यक्षहरू नन्द गुरुङ, विष्णु हमाल, विभिन्न राज्यका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको विशेष सहभागिता रहनेछ।

संस्कृति र अध्यात्म एकआपसमा गहिरो सम्बन्ध भएको र यसको संयोजनले मानसिक तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वासका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएका छन्। कार्यक्रममार्फत कला, संस्कृति र आध्यात्मिकताको माध्यमबाट नेपाली समुदायभित्र एकता, सहकार्य र आत्मिक सुदृढीकरणको सन्देश फैलाउने लक्ष्य लिएको छ।