सिड्नी, अस्ट्रेलिया – अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिहरू आपराधिक गतिविधिमा संलग्न हुने दर बढ्दै गएपछि सिड्नीमा ‘Safe Steps’ नामक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। नेपाली वाणिज्य दूतावास सिड्नीको आयोजनामा तथा अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (ANJA) को सहकार्यमा टाउनहलस्थित वाणिज्य दूतावास भवनमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा न्यू साउथ वेल्स प्रहरी बलका डिटेक्टिभ सर्जन्ट सुदीप स्वारले प्रस्तुत गरेका तथ्यांक अनुसार, न्यू साउथ वेल्समा मात्र हरेक महिना १०–१५ जना नेपाली मूलका व्यक्ति बलात्कार, घरेलु हिंसा, लागुऔषध कारोबार, यौन हिंसाजस्ता गम्भीर मुद्दामा जेल चलान भइरहेको जानकारी दिइयो। उनले समयमै सचेत भई जिम्मेवार व्यवहार गर्न समुदायलाई आग्रह गरे।
कार्यक्रममा नेपाली वाणिज्यदूत सञ्जीव शर्माले गैरकानुनी गतिविधिको बढ्दो दरले समग्र नेपाली पहिचानमा नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै समाज सुरक्षित र मर्यादित बनाउन यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यस्ता अभियानहरूमा संस्थागत सहयोग रहने प्रतिबद्धता जनाउँदै समुदायको सेवामा निरन्तर लागिरहने बताए।
कार्यक्रममा एन्जाका अध्यक्ष कृष्ण तिवारी, संस्थापक पत्रकार हेमन्त काफ्ले, नवाज अध्यक्ष चिरन तिवारी, कर्णाली समाज अष्ट्रेलियाका अध्यक्ष सुमन खत्री, सल्लाहकार डा. राजु मानन्धर, पत्रकार प्रकाश हुमागाईं, केदार रायमाझीलगायत झन्डै तीन दर्जन सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन तथा सहजीकरण एन्जाका महासचिव तथा वाणिज्य दूतावासका सूचना अधिकारी गणेश भट्टले गरेका थिए। सहभागीहरूले घरेलु हिंसा, लागुऔषध र कानुनी विषयमा जिज्ञासा राखेका थिए, जसको जवाफ प्रहरी अधिकारीले दिएका थिए।





तपाइँको प्रतिक्रीया