डार्विन,अष्ट्रेलिया – अष्ट्रेलियाको नर्दर्न टेरिटोरीस्थित डार्विन शहर आगामी १४ जुन २०२५ मा नेपाली कला, संस्कृति, स्वाद र एकताको भव्य प्रदर्शनी हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दर्न टेरिटोरीको आयोजना र Akron Group NT को शीर्ष प्रायोजनमा “नेपाल फेस्टिभल डार्विन २०२५” विविध सांस्कृतिक कार्यक्रमसहित डार्विन वाटरफ्रन्टमा हुने पक्का भएको छ।
“One Country, Many Stories” भन्ने मूल नारासहितको यस उत्सवले नेपालभित्रको सांस्कृतिक विविधता, मौलिकता र समावेशी भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्नेछ। दिउँसो २ बजे सुरु भई राति १० बजेसम्म चल्ने यस कार्यक्रम निःशुल्क प्रवेशसहित सबैका लागि खुला हुनेछ।
कार्यक्रमको विशेष आकर्षणमा नेपाल संस्कृतिक ¥याली (Cultural Parade) रहनेछ, जसमा नेपाली पोशाक, जातीय परम्परा र सांस्कृतिक सम्पदाहरू प्रदर्शित गरिनेछ। साथै, “नेपाल हाउस” नामक विशेष प्रदर्शनी क्षेत्रमार्फत नेपालका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू, कला तथा हस्तकलाको झल्को दिने प्रयास गरिनेछ।
सांस्कृतिक प्रस्तुतीहरूमा नेपाली पारम्परिक नृत्य, प्रत्यक्ष संगीत, लोक भाकाहरू र स्थानीय कलाकारहरूको सहभागिता रहनेछ। यसैगरी, बालबालिकाका लागि आकर्षक खेलकुद र सिर्जनात्मक क्रियाकलापहरू सहित विशेष कार्यक्रमको व्यवस्था गरिएको छ। रातको अन्त्यतिर हुने आतिशबाजी (fireworks) ले उत्सवको माहोललाई अझ रोमाञ्चक बनाउनेछ।
नेपाली परिकारहरूको स्वाद लिनका लागि विभिन्न फुड स्टलहरू संचालन गरिने छन्, जसमा म:म, चतामरी, सेलरोटी, आलु दमजस्ता परम्परागत परिकार पाइनेछन्। त्यस्तै, नेपाली समुदायका सेवामूलक संस्था र जानकारीमूलक स्टलहरू पनि रहनेछन्, जसले सहभागीहरूलाई विविध जानकारी र सहयोग पुर्याउनेछन्।
कार्यक्रममा एनआरएनए नर्दर्न टेरिटोरी, नर्दर्न टेरिटोरी सरकार, Darwin Waterfront, City of Darwin, NANT, र DHFC को सहकार्य रहेको छ। यसले नेपाली समुदाय र अष्ट्रेलियाली संस्थाबीचको समन्वय र सहकार्यलाई समेत प्रतिबिम्बित गर्छ।
एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनआरएनए एनटीका संयोजक सन्जिव गोर्खाली ढकालका अनुसार, “नेपाल फेस्टिभल डार्विन २०२५ नेपाली समुदायको एकताको प्रतीक हो। हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्दै अष्ट्रेलियामा नेपाली अस्तित्वलाई गर्वका साथ अस्ट्रेलिया जस्तो मल्टिकल्चर कम्युनिटीमा चिनाउने गर्दछौं।”
कार्यक्रम अष्ट्रेलियामा जन्मिएका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र पहिचानमा जोड्न एउटा प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ। साथै, यो उत्सवले नेपाली र अष्ट्रेलियन समुदायबीच आपसी समझदारी, मित्रता र सांस्कृतिक आदानप्रदानलाई समेत प्रगाढ बनाउनेछ।
नेपाल उत्सव २०२५ नेपाली समुदायका लागि मात्र नभई डार्विनको विविध सांस्कृतिक जीवनशैलीको एउटा महत्वपूर्ण अध्याय बन्ने निश्चित देखिन्छ। आयोजकहरूले सबैलाई परिवारसहित उपस्थित भई नेपालको संस्कृति, स्वाद र सद्भावको उत्सव मनाउन हार्दिक निमन्त्रणा गरेका छन्।

तपाइँको प्रतिक्रीया