सिड्नी — गैरआवासीय नेपाली अभियानमा सक्रिय महेश श्रेष्ठ नेतृत्वको समूहले ‘NRNA Australia Ltd’ नामक नयाँ संस्था अष्ट्रेलियामा स्थापना गरेको छ। अष्ट्रेलियाको कम्पनी नियामक निकाय ASIC (Australian Securities and Investments Commission) मा दर्ता भइसकेको यो कम्पनीलाई एनआरएनए अष्ट्रेलियाको समावेशी, पारदर्शी र उत्तरदायी विकल्पका रूपमा अगाडि ल्याइएको बताइएको छ।

श्रेष्ठ समूहका अनुसार, प्रवासी नेपालीको नाममा सञ्चालन हुँदै आएको हालको एनआरएनए संरचनामा देखिएको असन्तुलन, असहभागिता र अत्यधिक राजनीतिक प्रभावका कारण नेपाली समुदायमा बढ्दो असन्तोषलाई सम्बोधन गर्न नयाँ संस्था गठन गरिएको हो। उनीहरूको भनाइमा, यो संस्था प्रवासी नेपाली समुदायलाई समेट्ने, उनीहरूको विचारलाई प्रतिनिधित्व दिने र पारदर्शी ढंगले संस्थागत रूपमा अघि बढाउने उद्देश्यले स्थापित गरिएको हो।
नयाँ संस्था ‘NRNA Australia Ltd’ ले अब प्रवासी नेपालीका हितमा कार्यक्रमहरू सञ्चालन गर्ने, सदस्यता प्रक्रिया सुरु गर्ने र समुदायसँग प्रत्यक्ष संवादमार्फत योजना अघि बढाउने तयारी गरिरहेको जनाइएको छ। विस्तृत संरचना र आगामी कार्ययोजनाबारे चाँडै सार्वजनिक जानकारी दिने तयारीसमेत समूहले गरेको छ।
यो घटनालाई एनआरएन अभियानमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ। महेश श्रेष्ठ समूहको सक्रियता, वैकल्पिक संस्था स्थापना, र यसले प्रवासी नेपाली समुदायमा ल्याउने सम्भावित प्रभावलाई लिएर प्रवासी समाजमा व्यापक चासो र चर्चा सुरु भएको छ। एनआरएनए अष्ट्रेलियाको वैकल्पिक अभ्यासको रूपमा अगाडि सारिएको यो संस्था प्रवासी नेपाली समाजमा नयाँ बहस र धारणा निर्माणको चरणमा प्रवेश गरेको देखिएको छ।

तपाइँको प्रतिक्रीया