अष्ट्रिया -अष्ट्रियाको ग्राज शहरमा मंगलबार भएको स्कुल गोलीकाण्डमा १० जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। आक्रमणकारीसहित १० जनाको मृत्यु पुष्टि गरिएको हो। अष्ट्रियाको गृह मन्त्रालयका अनुसार आक्रमणकारी २१ वर्षीय एक पूर्वविद्यार्थी थिए, जसले अन्ततः आफूलाई पनि गोली हानेर ज्यान लिए।
आक्रमणकारी अष्ट्रियाली नागरिक थिए र ग्राजमै बसोबास गर्दै आएका थिए। उनीसँग पेस्तोल र सटगन थिए, जुन कानुनी रूपमा प्राप्त भएको विश्वास गरिएको छ। उनको आपराधिक रेकर्ड भने छैन। उनी सो स्कुलमा पढेका भए पनि पास भएर निस्किएका थिएनन्।
घटनामा १२ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको अष्ट्रियाका गृह मन्त्री गेर्हार्ड कर्नरले पुष्टि गरेका छन्। घटनास्थलमा पुगेका आपतकालीन सेवाहरूका अनुसार घाइतेहरूलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालहरूमा लगिएको थियो।
राज्य सञ्चारमाध्यम ORF का अनुसार विद्यार्थी, शिक्षक र कर्मचारीहरू आक्रमणको सिकार बनेका छन्। घटनापछि देशभर शोकको लहर फैलिएको छ। अष्ट्रियाका चान्सलर क्रिस्टियन स्टोकरले यस घटनालाई “राष्ट्रिय त्रासदी” भनी टिप्पणी गरेका छन्।
सरकारले बुधबार बिहान १० बजे एक मिनेटको मौन धारण गर्ने र तीन दिनको राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।

तपाइँको प्रतिक्रीया