एडिलेड — “सबैलाई घर चाहिन्छ” भन्ने सन्देश बोकेको ‘विनी सीईओ स्लीपआउट’ (Vinnies CEO Sleepout) कार्यक्रममा एडिलेड निवासी समाजसेवी तथा व्यवसायी आशिष वाग्लेले यो वर्ष पनि सहभागिता जनाउँदै छन्। जुन १९ तारिखको रात उनी खुला आकाशमुनि सुत्दै चौथो पटक यो महत्वपूर्ण अभियानमा संलग्न हुँदै छन्।उक्त कार्यक्रममा साउथ अस्ट्रेलियाका प्रिमियरले समेत सहभागिता जनाउने गर्दछन्।

गत तीन वर्षको अवधिमा उनले आफन्त, साथीभाइ र सहकर्मीहरूको साथ सहयोगमार्फत सेंट भिन्सेन्ट डे पउल सोसाइटी (St Vincent de Paul Society) का लागि ११ हजार डलरभन्दा बढी सहयोग रकम संकलन गरिसकेका छन्। यो रकममार्फत अस्ट्रेलियामा घरविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूका लागि आपतकालीन आवास, खाना, स्वास्थ्य सेवा र अन्य आवश्यक सेवाहरू उपलब्ध गराइएको थियो।
तर आवश्यकताको मात्रा अझै पनि ठूलो छ। तथ्यांकअनुसार, हरेक रात दक्षिण अस्ट्रेलियामै करिब ७,५०० मानिसहरू घरविहीन अवस्थामा जीवन गुजारिरहेका छन् — कोही सडकमा सुतिरहेका छन् भने कोही अस्थायी र असुरक्षित आवासमा बसिरहेका छन्।
यसपटक अाशिष वाग्लेले अझ बढी रकम संकलन गर्ने लक्ष्य लिएका छन्। संकलित रकम केवल तत्काल राहतका लागि मात्र नभई दीर्घकालीन समाधानमा पनि खर्च गरिन्छ, जस्तै कि शिक्षा, काउन्सेलिङ, र स्थायी आवास कार्यक्रमहरू।
अाशिष वाग्लेले भने,
“घरविहीनता कुनै व्यक्तिगत कमजोरी होइन, यो प्रणालीगत समस्या हो। हामी सबैले मिलेर मात्र यसको समाधान गर्न सक्छौं। म भाग्यमानी छु, किनकि मलाई घर छ, काम छ र समुदायको साथ छ। तर समाजमा हाम्रै छेउछाउमा बसोबास गर्ने धेरै मानिसहरू त्यस्तो सुविधाबाट वञ्चित छन्। म सुतिरहेको बेला उनीहरूको पीडा सम्झन्छु, र त्यही अनुभूति नै यो अभियानमा संलग्न गराउने मुख्य प्रेरणा हो।”
👉 दाताको रूपमा सहभागी हुन यहाँ क्लिक गर्नुहोस्:
https://www.ceosleepout.org.au/fundraisers/aashishwagley/sa
अाशिष वाग्ले जस्ता सक्रिय सामाजिक अभियन्ताहरूले यस्तो अभियानमार्फत समाजमा सकारात्मक प्रभाव पारिरहेका छन्। उनीहरूको प्रयासले बेघर अवस्थाका मानिसहरूलाई केवल रात काट्ने थलो मात्र होइन, नयाँ जीवन सुरु गर्ने अवसर पनि मिलिरहेको छ।
एक रात खुला आकाशमुनि सुत्नु उनीहरूका लागि पीडा बुझ्ने माध्यम हो — जुन हामी सबैले बुझ्न, महसुस गर्न र परिवर्तन ल्याउनुपर्ने चुनौती हो।


तपाइँको प्रतिक्रीया