डार्विन,अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२७) का लागि सञ्जिव ढकाल गोर्खालीले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। आफू केवल पदको आकांक्षी नभई समुदायप्रतिको सेवा, एकता र पारदर्शितामा विश्वास गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै ढकालले अबको नेतृत्व व्यवहारमा आधारित हुनुपर्ने स्पष्ट पारेका छन्।
उहाँले एनआरएनए फाउन्डेसनलाई स्वतन्त्र च्यारिटी संस्था बनाउँदै त्यसले एनआरएनए अष्ट्रेलियालाई प्रत्यक्ष रिपोर्ट गर्ने संरचना निर्माण गर्ने योजना अघि सारेका छन्। साथै, अष्ट्रेलियामा रहेका विद्यार्थीहरूका लागि एसोसिएट सदस्यता पुनःसञ्चालन गरी तिनीहरूलाई पनि संस्थागत रूपमा सहभागी गराउने र उनीहरूबाटै राष्ट्रिय छात्र परिषद् गठन गर्ने घोषणा गरेका छन्।

ढकालले समुदायमा रहेका महिला, युवा तथा क्षेत्रीय आवाजलाई संस्थाभित्र प्रभावकारी प्रतिनिधित्व दिलाउने, सरकारका तीनै तहसँग सहकार्य गर्दै नेपाली समुदायको प्रभाव विस्तार गर्ने र राजनीति भन्दा माथि उठेर सेवा र नतिजामा केन्द्रित नेतृत्व दिन प्रतिबद्ध रहेको बताएका छन्।
“हामी वाचा मात्र गर्दैनौं, काम गरेर देखाउँछौं,” भन्ने सन्देशसहित ढकालले चाँडै आफ्नो विस्तृत एजेन्डा र कार्ययोजना सार्वजनिक गर्ने जानकारी दिएका छन्। हाल गोर्खाली नर्दन टेरिटोरी एनआरएनएका संयोजक र एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष हुनुहुन्छ ।अष्ट्रेलियामा एनआरएनएको आगामी २६ जुलाईमा निर्वाचन हुदैछ।

तपाइँको प्रतिक्रीया