अष्ट्रेलिया/अष्ट्रेलियामा नर्सिङ, शिक्षण, मिडवाइफरी (प्रसूति सेवा) र सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीहरूका लागि एक ऐतिहासिक योजना घोषणा गरिएको छ। अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानीजले सार्वजनिक गरेको Commonwealth Prac Payment (CPP) नामक यो योजना अन्तर्गत अबदेखि यस्ता पेशागत क्षेत्रमा अध्ययन गरिरहेका विद्यार्थीहरूले अनिवार्य रूपमा गर्नुपर्ने व्यावसायिक अभ्यास (prac placement) को अवधिमा तलब पाउने व्यवस्था गरिएको हो।
सरकारले यो योजना २०२५ जुलाई १ बाट लागू गर्ने जनाएको छ। योजनाअनुसार, योग्य विद्यार्थीहरूले अनिवार्य प्राक्टिकल प्लेसमेन्टका अवधिमा साप्ताहिक ३३१.६५ अष्ट्रेलियन डलर पाउनेछन्। यस भत्ताले विद्यार्थीहरूलाई अभ्यासका क्रममा हुने आर्थिक भार घटाउने अपेक्षा गरिएको छ।

तर यो सुविधा केवल घरेलु विद्यार्थीहरूका लागि सीमित गरिएको छ। त्यसअन्तर्गत अष्ट्रेलियाली नागरिक वा स्थायी बासिन्दा भई Commonwealth Supported Place (CSP) अन्तर्गत अध्ययनरत विद्यार्थीहरू मात्र यस योजनाको लाभ लिन सक्नेछन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरू, जसले पूर्ण शुल्क तिरेर अध्ययन गरिरहेका हुन्छन्, यस योजनाबाट पूर्ण रूपमा वञ्चित हुनेछन्।
योजना अनुसार, योग्य विद्यार्थीले स्नातक वा स्नातकोत्तर तहमा नर्सिङ, शिक्षण, मिडवाइफरी वा सामाजिक कार्य अध्ययन गरिरहेको हुनुपर्नेछ। त्यस्तै, उनीहरूले अनिवार्य रूपमा व्यावसायिक अभ्यास गरिरहेको हुनुका साथै हप्तामा औसत ३० घण्टा वा सोभन्दा बढी समय अभ्यासमा बिताइरहेको प्रमाणित हुनुपर्नेछ। मिडवाइफरीको सन्दर्भमा भने ‘continuity of care’ को अभ्यासमा सहभागी विद्यार्थी पनि योग्य ठहरिनेछन्, जसमा नियमित काम गर्न सम्भव नहुने अवस्था उत्पन्न हुन्छ।
यस अतिरिक्त, विद्यार्थीले सरकारद्वारा तोकिएको कुनै एक आर्थिक परीक्षण पनि पूरा गर्नुपर्नेछ। जसमध्ये एक हो— सरकारले प्रदान गर्ने सहायता जस्तै ABSTUDY, Austudy, Youth Allowance वा अन्य कुनै सामाजिक भत्ता प्राप्त गरिरहेको हुनु। अर्को विकल्प भनेको ‘Need to Work Test’ र ‘Income Test’ पूरा गर्नु हो, जसअनुसार विद्यार्थीले आफ्नो सामान्य अध्ययन अवधिमा हप्तामा कम्तीमा १५ घण्टा काम गरेको प्रमाण प्रस्तुत गर्नुपर्नेछ, र चार हप्ताको अवधि अनुसार कुल आय साप्ताहिक १५०० डलरभन्दा कम हुनुपर्नेछ।सरकारले अपवादका रूपमा केही ‘exceptional circumstances’ भएका विद्यार्थीहरूका लागि छुटको व्यवस्था गर्न सकिने संकेत दिएको भए पनि, त्यसको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यसैले हालको अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू यस योजनाबाट बाहिरिने देखिन्छन्।
प्रधानमन्त्री एल्बानीजले सामाजिक सञ्जालमार्फत यो योजना सार्वजनिक गर्दै यसलाई ‘Big news’ को रूपमा सम्बोधन गरेका थिए। सरकारको अनुसार, यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूको आर्थिक बोझ कम गर्नु, व्यावसायिक तालिमलाई सहज बनाउनु, र विशेषगरी स्वास्थ्य, शिक्षण तथा सामाजिक सेवाका क्षेत्रमा आवश्यक जनशक्ति तयार पार्नु हो।यस योजनाको स्वागत अष्ट्रेलियाभित्र विभिन्न पेशागत संस्था तथा शैक्षिक संघसंस्थाहरूले गरेका छन्। तथापि, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तर्फबाट भने निराशा व्यक्त हुने सम्भावना रहेको देखिन्छ। अष्ट्रेलियामा अध्ययनरत हजारौं विदेशी विद्यार्थीहरूमध्ये ठूलो संख्याले यिनै क्षेत्रमा अध्ययन गरिरहेका छन्, तर उनीहरूले यस्तो सुविधा नपाउनु अन्यायपूर्ण भएको आवाज पनि उठ्न सक्छ।
सरकारले आगामी दिनमा विस्तृत कार्यान्वयन प्रक्रिया सार्वजनिक गर्ने जनाएको छ। त्यसपछि मात्र थप स्पष्टता आउनेछ कि ‘exceptional cases’ मा को-को समावेश हुन सक्नेछ।

तपाइँको प्रतिक्रीया