अष्ट्रेलिया– आगामी कार्यकाल (२०२५–२०२७) का लागि एनआरएनए अष्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका सन्तोष कुँवरले आफ्नो कार्यकालको योजनासहितको प्रतिबद्धता सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले दुई वर्षे कार्ययोजना तयार भइसकेको जानकारी दिँदै, हाल फ्लायरमार्फत मुख्य अजेन्डा प्रस्तुत गरिएको र विस्तृत विवरण चाँडै भिडियो र पोस्टमार्फत सार्वजनिक गरिने बताएका छन्।
‘नेपाली डायस्पोरालाई सशक्त बनाउने’ मूल नाराका साथ अघि बढेका कुँवरले एनआरएनए अष्ट्रेलियालाई अझ सक्षम, उत्तरदायी र नवीन संरचनामार्फत अघि बढाउने अठोट व्यक्त गरेका छन्। उनले एनआरएनएलाई केवल सामाजिक संस्था होइन, एक सक्रिय नीति–प्रभावक र लगानीमैत्री मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहितका योजनाहरू प्रस्तुत गरेका छन्।

उनका योजना अनुसार, अष्ट्रेलियाका राज्य तथा संघीय सरकारहरूसँग साझेदारी गर्दै २ मिलियन डलर बराबरको अनुदान सुरक्षित गर्ने प्रयास हुनेछ। त्यसका लागि एनआरएनए अष्ट्रेलियाभित्र विशेष अनुदान तथा साझेदारी कार्यदल गठन गरिनेछ। साथै, एनआरएनए फाउन्डेसनमार्फत सबै च्यारिटी कार्यक्रमहरू पारदर्शी ढंगले सञ्चालन गरिने छन्।
कुँवरले दोस्रो पुस्ताका नेपालीहरूलाई संस्थागत रूपमा संलग्न गराउनका लागि एनआरएनए अष्ट्रेलियाको संविधानमै उल्लेख भएको ‘सेकन्ड जेनेरेशन विङ’ लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना पनि अघि सारेका छन्। युवाहरूलाई उद्यमशीलता र लगानीमा जोड्ने उद्देश्यले एनआरएनए व्यापार सञ्जालमार्फत विभिन्न स्टार्टअप मेन्टोरशिप कार्यक्रम, लगानी सम्मेलन तथा डायस्पोरा–नेतृत्वमा आधारित इनक्युबेटरहरूको आयोजना गरिने उनले बताएका छन्।
नीतिगत पैरवी र मुलुक तथा समुदायलाई आवश्यक परेका मुद्दाहरूमा सशक्त आवाज बन्ने प्रतिबद्धता पनि कुँवरले जनाएका छन्। उनले विगतका अनुभव, समर्पण र आफ्नो तयारीको आधारमा समुदायको विश्वास जित्ने अपेक्षा राखेका छन्। उनले सकारात्मक सुझाव, सल्लाह र रचनात्मक प्रतिक्रिया सधैं स्वागतयोग्य हुने भन्दै सबैलाई सहकार्य र समर्थनका लागि आह्वान गरेका छन्। एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचन यही जुलाई २६ तारिख शनिबार हुने तय भएको छ।


तपाइँको प्रतिक्रीया