२०८२ चैत ८ आइतबार

विद्यार्थी भिसा प्रक्रियाबारे सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक प्रचारप्रति ईक्यानको चेतावनी

  • admin २०८२ असार २० शुक्रबार

काठमाडौं — अष्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रियासम्बन्धी भ्रामक सूचना र प्रचार सामग्रीहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले औपचारिक सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

ईक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार पछिल्लो समय विशेषतः TikTok र Facebook जस्ता सामाजिक सञ्जालहरूमा “कम अंक भए पनि भिसा लाग्छ, भिसा ग्यारेन्टी छ, बिना IELTS वा अंग्रेजी नआए पनि
अष्ट्रेलिया जान सकिन्छ, ग्याप भए पनि सजिलै भिसा पाइन्छ, डकुमेन्टेसन र फाइनान्स हामी मिलाइदिन्छौं” भन्ने जस्ता प्रचारहरू व्यापक रूपमा देखिन थालेका छन्। यस्तो अवस्थाले विद्यार्थी, अभिभावक र यहाँका कन्सल्टेन्सीहरूलाई नै भ्रममा पार्ने खतरासमेत पैदा भएको उनले बताएका छन्।

अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा भइरहेका यस्ता प्रचारहरूमध्ये धेरैजसो अष्ट्रेलियाली कानुन, भिसा नीति र वास्तविक प्रक्रिया विपरीत रहेको स्पष्ट गर्दै, “नेपालका केही परामर्शदाताहरूले पनि आधारविहीन दाबी गर्न थालेपछि हामी बोल्न बाध्य भएका हौं”। उनका अनुसार भिसा प्रक्रिया जटिल, समयसापेक्ष र प्रमाणमा आधारित हुन्छ, जुन भावनामा बहकिएर होइन, योजनामा आधारित भएर तय गर्नुपर्ने प्रक्रिया हो।

भिसा प्रक्रिया सजिलो नभएको बताउँदै ECAN ले विद्यार्थी तथा अभिभावकहरूलाई वास्तविक तथ्य बुझेर मात्र अगाडि बढ्न आग्रह गरेको छ। हालै, सन् २०२५ जुलाई १ बाट अष्ट्रेलियन विद्यार्थी भिसा आवेदन शुल्क २,००० अष्ट्रेलियन डलर पुगेको छ। यो बाहेक ट्युसन शुल्क, स्वास्थ्य बिमा, जीवनयापन खर्चलगायतका पक्षहरू पनि ध्यानमा राख्नुपर्ने हुन्छ। भिसा प्रक्रिया सुरु गरेपछि समय, श्रम र लगानी पनि गम्भीर रूपमा जोडिने भएकाले हचुवाका भरमा निर्णय गर्नु बुद्धिमानी नहुने बताइएको छ।

साथै, परामर्श लिँदा दर्ता भएका, आचारसंहिता पालना गर्ने र पारदर्शी प्रक्रिया अपनाउने परामर्शदाता छान्न आवश्यक छ। ECAN ले विदेश अध्ययनका लागि आधिकारिक र सरकारी वेबसाइटहरूमा भर पर्न आग्रह गरेको छ। अष्ट्रेलियाको गृह मामिला विभागको वेबसाइट www.homeaffairs.gov.au तथा विश्वविद्यालय/कलेजका आधिकारिक पोर्टलहरूबाट नै जानकारी लिनु विश्वसनीय हुने बताइएको छ। विदेश पढ्न जाने निर्णय एक दीर्घकालीन लगानी भएकाले सो निर्णय भावनामा होइन, योजनामा आधारित हुनुपर्ने ECAN को धारणा छ। SOP (Statement of Purpose) तयार पार्दा तथ्यमा आधारित, प्रमाणिक कागजातसहित र कानुनी प्रक्रिया अनुरूप अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ। गलत जानकारीको भरमा गरिने निर्णयले भिसा अस्वीकृति, ब्ल्याकलिस्ट वा कानुनी समस्या पनि निम्त्याउन सक्छ।

सामाजिक सञ्जालमा देखिने आकर्षक प्रचारवाजीले होइन, सही स्रोत, प्रमाणिक प्रक्रिया र जिम्मेवार परामर्शदाताको सहयोगमा मात्र विदेश अध्ययनको निर्णय गर्नु सबैको हितमा हुने ECAN को भनाइ छ। विद्यार्थीको भविष्य संवेदनशील विषय भएकाले प्रचार होइन, यथार्थको आधारमा सोच्नु अपरिहार्य भएको ECAN ले स्पष्ट पारेको छ। आफ्नो भविष्य सुरक्षित राख्न ईक्यानले सुझाएको सावधानी अब सबैका लागि अत्यावश्यक सावधानी बन्न पुगेको छ।