२०८२ चैत ८ आइतबार

एनआरएनए अष्ट्रेलियाको उपाध्यक्षमा बबिन मिश्रको उम्मेदवारी घोषणा

  • admin २०८२ असार २४ मङ्गलबार

अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि उपाध्यक्ष पदमा बाबिन मिश्रले उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि नेपाली समुदायमा सक्रिय रहँदै आएका मिश्रले यसपटकको उम्मेदवारीलाई ‘उत्तरदायित्व, उद्देश्य र एकता’को बलमा अघि बढाउने संकल्प गरेका छन्।

नेपाली डायस्पोरा समुदायको हक, हित र समुन्नतिको लागि समर्पित भावनाले प्रेरित बाबिन मिश्रले एनआरएनएलाई अझ सशक्त र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार संस्थाको नेतृत्व केवल औपचारिक पद होइन, जिम्मेवारी हो—जो साँचो अर्थमा समुदायको आवाज बन्‍न र साझा उपलब्धिको लागि समर्पित हुनुपर्छ।

उम्मेदवारी घोषणासँगै उनले अष्ट्रेलियाभरिका नेपाली समुदायलाई आह्वान गर्दै भनेका छन्, “हामीले मिलेर बनाएको संस्थागत सम्पदालाई जोगाउनु, समृद्ध बनाउनु र आगामी पुस्तालाई हस्तान्तरण गर्नु मेरो नेतृत्वको आधार हुनेछ।”

एजुकेसन र माइग्रेसनको क्षेत्रमा क्रियाशील मिश्रले एनआरएनए अष्ट्रेलियाको प्रवक्ता र युवा संयोजकका रुपमा काम गरिसक्नुभएको छ । उहाँ स्मार्ट एनआरएनए अभियानमा समेत हुनुहुन्छ । उनले संस्थालाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाउने लक्ष्यसहित सहकार्य र संवादको संस्कृति विकास गर्ने र एनआरएनए अष्ट्रेलियालाई उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने अठोट दोहोर्‍याएका छन्।

बाबिन मिश्रको अभियान समावेशी नेतृत्व, युवापुस्ताको सहभागिता, सामाजिक र सांस्कृतिक पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको आवाज बुलन्द गर्न केन्द्रित छ। उनले एनआरएनए अष्ट्रेलियालाई नयाँ उचाइमा पुर्‍याउने मार्गचित्र प्रस्तुत गर्दै, सबै वर्ग र पुस्तालाई समेट्ने अग्रगामी नेतृत्वको प्रस्ताव गरेका छन्।

“एनआरएनएमा मेरो संलग्नता केवल दायित्व होइन, गर्व र आत्मसन्तोषको विषय हो,” मिश्रले भने, “अब हामी सबै मिलेर एनआरएनएको भविष्यलाई अझ बलियो र विश्वासिलो बनाऔं।”

समुदायको सल्लाह, सुझाव र प्रतिक्रियालाई महत्वपूर्ण मान्दै उनले आफ्ना विचारहरूमा सबैको सहभागिता चाहेको बताएका छन्। बाबिनले सल्लाह र सुझावका लागि अनलाइन फारम समेत सार्वजनिक गरेका छन्।https://forms.gle/Xmz4LbeYerzfCG2y6

बाबिन मिश्रको उम्मेदवारीसँगै एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा सकारात्मक बहस र नवीकरणको अपेक्षा गरिएको छ। जुलाई २६ मा अष्ट्रेलियामा एनआरएनए निर्वाचन हुँदैछ ।