अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि राष्ट्रिय महिला संयोजक (नारीनिकुञ्ज) पदमा रिज्नू अधिकारीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छन्। अष्ट्रेलियामा सक्रिय समुदायसेवी तथा महिलाको हक, सम्मान र सशक्तिकरणका लागि लामो समयदेखि क्रियाशील अधिकारीले सामाजिक समावेशिता, महिला नेतृत्व विकास र सेवा भावनालाई आफ्नो अभियानको मूल मन्त्र बनाउँदै उम्मेदवारी सार्वजनिक गरेकी हुन्।

अधिकारी हाल दक्षिण अष्ट्रेलिया राज्य नारीनिकुञ्जकी संयोजकका रूपमा क्रियाशील छिन्। सन् २०२१ देखि २०२३ सम्म उनले सोही संस्थामा महिला सदस्यको रूपमा कार्य गर्दै विभिन्न कार्यक्रम तथा पहलकदमीमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। उनले एनआरएनएको विभिन्न तहमा महिलाको सहभागिता सुनिश्चित गर्न, युवती तथा नयाँ महिला आप्रवासीहरूसँग सहकार्य बढाउन र समग्र महिला कल्याणमा काम गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनका प्रमुख प्रतिबद्धता तथा कार्यदिशाहरू यस्ता छन्:
•महिला नेतृत्व विकास र निर्णायक सहभागिता:
महिलाको नेतृत्व क्षमता अभिवृद्धि गर्दै निर्णायक तहसम्म पुर्याउने, समावेशी र जिम्मेवार नेतृत्व निर्माण गर्ने।
•सशक्तिकरण, सीप विकास र करियर सहयोग:व्यावसायिक, सामाजिक तथा सांस्कृतिक रूपमा सक्षम बनाउने कार्यक्रम सञ्चालन; मानसिक स्वास्थ्य, उद्यमशीलता र करियर विकासमा केन्द्रित तालिम र सहयोग।
•युवती, छात्रा र नयाँ आप्रवासी महिलासँग सहकार्य:नयाँ पुस्ताका महिलालाई नेतृत्व, मार्गदर्शन र नेटवर्किङका अवसरहरू प्रदान गर्ने।
•महिला सञ्जाल विस्तार, एकता र सहकार्य प्रवर्द्धन:राज्य र राष्ट्रिय स्तरमा महिला नेटवर्कको सुदृढीकरण र पारस्परिक सहयोगको प्रवर्द्धन।
•स्वास्थ्य, घरेलु हिंसा र समग्र महिला कल्याण:स्तन क्यान्सर, मानसिक स्वास्थ्य लगायतका विषयमा सचेतनामूलक अभियान; घरेलु हिंसासम्बन्धी सेवा केन्द्र, हेल्पलाइन र कानुनी जानकारीको पहुँच सुनिश्चित गर्दै अष्ट्रेलिया तथा नेपाल दुवै स्थानमा स्वास्थ्य र कल्याण केन्द्रित कार्यक्रम विस्तार।
•नेपालस्थित संघ–संस्थासँग सहकार्य: नेपालका महिला अधिकार, शिक्षा र उद्यमशिलता प्रवर्द्धक संस्थाहरूसँग सहकार्य गर्दै ग्रामीण र शहरी क्षेत्रमा समेत योगदान पुर्याउने।
उम्मेदवारीसँगै उनले अष्ट्रेलियाभर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा साथीहरूलाई सुझाव, साथ र समर्थनका लागि आग्रह गरेकी छन्। महिलाको हक, अधिकार र सहभागितालाई सशक्त बनाउने यो यात्रामा सबैको साथ र सहकार्य अपेक्षित रहेको अधिकारीको भनाइ छ। रिज्नू अधिकारीको उम्मेदवारीसँगै एनआरएनए अष्ट्रेलियामा महिला नेतृत्व र समावेशी सहभागिताका लागि एक सशक्त र दूरदर्शी बहस सुरु भएको छ।


तपाइँको प्रतिक्रीया