एडिलेड,अष्ट्रेलिया – नेपाली समुदायमा लामो समयदेखि सक्रिय रहँदै आएका सामाजिक अभियन्ता गोविन्द रानाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि गैरआवासीय नेपाली संघ (NRNA) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका रानाले मगर समाज दक्षिण अष्ट्रेलिया र हिमालयन मल्टिकल्चरल सोसाइटी जस्ता संस्थाहरूको स्थापना तथा नेतृत्व गर्दै समुदाय निर्माणमा महत्वपूर्ण भूमिका निभाएका छन्। साथै, उनी वर्तमान (२०२३–२०२५) कार्यकालमा NRNA अष्ट्रेलियाका NCC सदस्य समेत हुन्।

उम्मेदवारी घोषणा गर्दै उनले भने, “विगत दुई दशकभन्दा बढी समयको अनुभव, समुदायबीचको समन्वय क्षमताको उपलब्धि र संस्थागत सञ्जाल मेरो सबल आधार हुन्। अब ICC सदस्यको भूमिकामा रहेर अन्तर्राष्ट्रिय स्तरमा नेपाली समुदायको आवाज बुलन्द बनाउने मेरो अठोट छ।”
बुढापाकाको हेरचाहदेखि लिएर युवाहरूको सशक्तीकरण, विद्यार्थीहरूको अवसर अभिवृद्धि र महिलाको नेतृत्व विकाससम्मका विषयमा लक्षित कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ। समावेशी नेतृत्व अभ्यास गर्दै पारदर्शिता र जवाफदेहिताको सशक्त प्रणाली विकास गर्ने उनको अठोट छ।
रानाले NRNA सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउन र सबै क्षेत्र तथा समुदायका व्यक्तिहरूलाई सदस्यतामा सहभागी गराउने उद्देश्य राखेका छन्। उनले स्थानीय नेपाली व्यवसायलाई प्रवर्द्धन गर्ने र नेपाली भाषा, कला, संस्कृति तथा पहिचानको संरक्षणका लागि संस्थागत प्रयासहरू गर्ने घोषणा गरेका छन्।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन बहुपक्षीय अभियानहरू अघि बढाउने योजना पनि उनले सार्वजनिक गरेका छन्। साथै, अष्ट्रेलियामा रहेका नेपाली मुलका युवाहरूलाई NRNA मा प्रेरित र सक्रिय बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिने बताएका छन्।
रानाले NRNA लाई सबै नेपालीहरूको साझा, समावेशी र भविष्य–मुखी मञ्चको रूपमा विकास गर्ने लक्ष्य व्यक्त गरेका छन्। आगामी जुलाई २६ मा हुने निर्वाचनमा सम्पूर्ण नेपाली समुदायको अमूल्य मत र समर्थन आग्रह गर्दै उनले आफूलाई मतदान गर्न अपिल गरेका छन्।

तपाइँको प्रतिक्रीया