२०८२ चैत ८ आइतबार

एनआरएनए अष्ट्रेलियामा विवेक थापालाई एकता अधिवेशनको नेतृत्व, ICC को निर्देशनमा पुनः सदस्यता र निर्वाचन प्रक्रिया सुरु हुने

  • admin २०८२ असार २६ बिहीबार

सिड्नी, अष्ट्रेलिया – गैर-आवासीय नेपाली संघ (NRNA) को हालै निर्वाचित महेश कुमार श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) ले अष्ट्रेलियामा उत्पन्न विवाद र असहजताको बीचमा एकता अधिवेशन गराउने जिम्मेवारी सामाजिक अभियन्ता तथा माईग्रेसन एजेन्ट विवेक थापालाई दिएको छ।

ICC महासचिव रामबाबु लामाको हस्ताक्षर रहेको औपचारिक पत्रमार्फत थापाको नेतृत्वमा अष्ट्रेलियामा सदस्यता वितरण, निर्वाचन प्रक्रिया र अधिवेशनलाई सफल, समावेशी र सर्वमान्य बनाउने निर्देशन दिइएको हो।

हाल अष्ट्रेलियामा अनिल पोखरेल नेतृत्वको एनआरएनए एनसीसी कार्यसमितिले जुलाई २६ मा निर्वाचन हुने घोषणा गरिसकेको छ। डिल्ली ढकालको संयोजकत्वमा निर्वाचन समिति समेत गठन भइसकेको छ भने १५ हजारभन्दा बढी सदस्यता वितरण भइसकेको दाबी गरिएको छ। तर यो प्रक्रिया विवादास्पद मानिँदै आएको छ।

दोस्रो पक्षका रूपमा देखिएको महेश श्रेष्ठ नेतृत्वको ICC ले भने सहकार्य र समावेशी सहभागिता मार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, सहमति र संवादमा आधारित एकता अधिवेशनको अभ्यास गर्न आग्रह गरिरहेको छ। यही सन्दर्भमा थापा नेतृत्वको एकता अधिवेशन समिति गठन गरिएको हो।

विवेक थापाले आफूलाई दिइएको निर्देशनबारे विज्ञप्ति जारी गर्दै प्रतिक्रिया जनाएका छन्। उनले एनआरएनएको वर्तमान तथा पूर्व जिम्मेवार नेतृत्व, संघसंस्थाका प्रतिनिधि र समुदायका सबै तह र तप्कासँग विस्तृत छलफल तथा सहमतिपछि समितिलाई पूर्णता दिइने बताएका छन्।उनको भनाइमा, “एनआरएनए राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाको अधिवेशन प्रक्रिया सम्बन्धमा पटक–पटक स्पष्ट निर्देशन र सुझाव दिँदा पनि बेवास्ता गरिँदै आएको छ। संस्थागत मापदण्ड विपरीत र अटेरपूर्ण ढंगमा अधिवेशनको तयारी भइरहेको अवस्थामा ICC ले मेरो नेतृत्वमा वैकल्पिक समिति गठन गरेको हो।”

थापाले अष्ट्रेलियालाई फेरि एकपटक समावेशी, पारदर्शी, र साझा नेपाली मञ्च बनाउने उद्देश्यका साथ सबैलाई साथ र सहयोगका लागि आह्वान गरेका छन्। उनले “NRNA कुनै समूह, व्यक्ति वा क्षेत्रको नभई सम्पूर्ण गैरआवासीय नेपालीको साझा सम्पत्ति हो” भन्ने धारणा व्यक्त गरेका छन्।

ओसिनिया क्षेत्रीय संयोजक इर्साद अहमदका अनुसार, हालसम्म MIS प्रणालीमार्फत सदस्यता लिन नपाएका झन्डै १५ हजारभन्दा बढी एनआरएनहरूलाई समेट्ने गरी सदस्यता प्रक्रिया चाँडै सुरु गरिने छ। “समाधान संवाद, समावेशी सहभागिता र पारदर्शितामार्फत खोजिनुपर्छ,” भन्दै उनले वर्तमान कार्यसमितिले पटक–पटक आग्रह गर्दा पनि सदस्यता समावेशी बनाउन चासो नदिएको आरोप लगाए। अहमदले भने, “ICC भित्र विचार फरक भए पनि अष्ट्रेलियामा एनआरएनएको एकता अत्यावश्यक छ। संरक्षक, पूर्व अध्यक्ष, भूतपूर्व तथा वर्तमान पदाधिकारीहरू र सबै समुदाय नेतृत्वकर्ताहरूको सहभागिता अबको प्रक्रियामा आवश्यक छ।”

यस घटनाक्रमसँगै अष्ट्रेलियामा हुने भनिएको NRNA निर्वाचनमा दुई फरक धार र प्रक्रियाबीचको टकराव झनै प्रष्ट बनेको छ। अबको ध्यान समुदाय, नेतृत्व र सरोकारवालाहरूबीचको संवाद, सहकार्य र सम्भावित एकतामूलक सहमतिमा केन्द्रित हुने देखिन्छ।