एडिलेड – गैरआवासीय नेपाली संघ (NRNA) दक्षिण अष्ट्रेलियाको आगामी कार्यकालका लागि संयोजक पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरूबीच “NRNA SA Presidential Debate 2025” शीर्षकको ऐतिहासिक प्रत्यक्ष बहस कार्यक्रम यही २४ जुलाई २०२५, साँझ ५:३० बजे एडिलेडस्थित Fresh Chulho Restaurant, Glandore मा आयोजना हुने भएको छ।
साथी टिभीको आयोजनामा हुन लागेको यस बहस कार्यक्रमले नेतृत्व चयनको पूर्वसन्ध्यामा नेपाली समुदायमा स्पष्ट जानकारी, विवेचन र प्रत्यक्ष सहभागिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। समुदायप्रतिको उत्तरदायित्व र पारदर्शी नेतृत्वको आवश्यकता झल्काउने यो कार्यक्रमले एनआरएन अभियानलाई अझ प्रभावकारी र जनमुखी बनाउने विश्वास गरिएको छ।
उम्मेदवारहरू एकै मञ्चमा ;यस बहस कार्यक्रममा संयोजक पदका तीन प्रमुख उम्मेदवार—विनोद बानिया, देवेन्द्र खरेल र थिर गुरुङ एउटै मञ्चमा उभिएर आ–आफ्नो दृष्टिकोण, नीति र योजनाहरू प्रस्तुत गर्नेछन्। कार्यक्रमलाई संवादात्मक स्वरूपमा सञ्चालन गरिनेछ, जहाँ सहभागीहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्। आयोजक संस्थाले जनाए अनुसार यहाँ सोधिने प्रश्नहरू उम्मेदवारले प्रस्तुत गरेका एजेन्डा र आगामी NRNA SCC को निर्वाचनमा केन्द्रित रहनेछ। व्यक्तिगत रूपमा लक्षित हुने प्रश्नहरू भने स्वीकार गरिने छैनन्। उम्मेदवारहरूको एजेन्डा र आगामी चुनावको वरिपरि रहेर तपाईं प्रत्यक्ष उपस्थित भएर प्रश्न सोध्न सक्नुहुनेछ।
संयोजन पत्रकार बिकेश पौडेलबाट ;कार्यक्रमको सञ्चालन र बहस संयोजनको जिम्मेवारी पत्रकार तथा साथी टिभीका निर्देशक बिकेश पौडेलले सम्हाल्नेछन् । उनले उम्मेदवारहरूलाई नीति, पारदर्शिता, समावेशीता र समुदाय प्रतिको उत्तरदायित्वका सवालमा आधारित प्रश्नहरू सोध्नेछन्।
साथी टिभीले यो कार्यक्रमलाई समुदायभित्र सचेत, जिम्मेवार र जानकारीमूलक नेतृत्व चयन प्रक्रियालाई सहयोग गर्ने माध्यमको रुपमा लिएको जनाएको छ। संस्थाको भनाइमा भनिएको छ:
“नेतृत्व चयन चेतनाको प्रक्रिया हो। यही चेतनालाई सशक्त बनाउन हामीले यो बहस कार्यक्रम आयोजना गरेका हौं। सूचना, बहस र सहभागिता नै सशक्त नेतृत्वको जग हुन्।”
समुदायलाई खुला निमन्त्रणा
साथी टिभीले सम्पूर्ण दक्षिण अष्ट्रेलियावासी नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नेतृत्वको विचार सुन्न, बुझ्न र मूल्यांकन गर्न आग्रह गरेको छ। उपस्थित दर्शकहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने भएकाले यो कार्यक्रमले समग्र नेपाली समुदायलाई निर्णय प्रक्रियामा सक्रिय सहभागिता गराउने अपेक्षा गरिएको छ।
कार्यक्रम विवरण
📍 स्थान: Fresh Chulho Restaurant, 514 Cross Rd, Glandore SA 5037
🗓 मिति: २४ जुलाई २०२५
🕓 समय: साँझ ५:३० बजे
📺 प्रत्यक्ष प्रसारण: साथी टिभी


तपाइँको प्रतिक्रीया