२०८२ चैत ८ आइतबार

थिर गुरुङद्वारा एनआरएनए साउथ अष्ट्रेलियाका लागि “ Team SA” को औपचारिक घोषणा

  • admin २०८२ श्रावाण ५ आइतबार

एडिलेड – गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्य समन्वय परिषद (SCC) का संयोजक पदमा उम्मेदवार रहेका थिर गुरुङले आफ्नो चुनावी टिम “ Team SA” को औपचारिक घोषणा गरेका छन्। “Trusted and Tested Team for Community” भन्ने नाराका साथ सार्वजनिक गरिएको यस टिमलाई उनले सामुदायिक सेवामा सक्रिय, अनुभवी र नयाँ पुस्ताको ऊर्जाशील संयोजनका रूपमा प्रस्तुत गरेका छन्।

थिर गुरुङले टिम घोषणा गर्दै समाजसेवामा आफू र आफ्नो समूहले विगतमा देखाएको सक्रियता, पारदर्शिता र नतिजामुखी नेतृत्व क्षमतालाई पुनः प्रमाणित गर्ने अवसरका रूपमा यो चुनावलाई लिएको बताएका छन्। उनले भने, “हामी पदका लागि होइन, संस्थागत संस्कार र उत्तरदायित्वका लागि अघि सरेका हौं। हाम्रो टिम केवल उम्मेदवारहरूको नामको सूची होइन, यो त एक प्रतिबद्ध अभियान हो—समुदायलाई समेट्ने, सुन्ने र साथ लिएर अघि बढ्ने।”

Team SA मा थिर गुरुङ स्वयं संयोजक पदका उम्मेदवार छन् भने उपसंयोजकका रूपमा गणेश पराजुली रहेका छन्। सचिवमा युवराज पहाडी र सह–सचिवमा कृष्ण प्रसाद भण्डारी रहेका छन्। वित्तीय जिम्मेवारी बसन्त सापकोटाले कोषाध्यक्षका रूपमा लिनेछन्। राज्य समन्वय परिषद (SCC) सदस्यका रूपमा भोलाराम सुवेदी र राजिब बस्नेत अघि सरेका छन्।

महिला सहभागिता सुनिश्चित गर्न टिममा तारा चौधरीलाई महिला संयोजक र कुसुम पौडेललाई महिला सह–संयोजक बनाइएको छ। त्यस्तै, युवापुस्ताको प्रतिनिधित्व गर्दै संगम पाण्डे युवा संयोजकका रूपमा र बिकास पौडेल युवा सह–संयोजकको भूमिकामा रहेका छन्। यस अतिरिक्त युवा सदस्यका रूपमा बिदुर भट्टराई, सुसिल रानाभाट र सरोज न्यौपानेको सहभागिता छ भने राष्ट्रिय समन्वय परिषद (NCC) सदस्य पदका लागि प्रेम निरौला (सुबास) र बिष्णु चापागाईं अघि सरेका छन्।

टिमको संरचना हेर्दा अनुभव र युवाशक्तिबीच सन्तुलन राखिएको देखिन्छ, जसले रणनीतिक दृष्टिले कार्यकुशलता र नवीन सोच दुवैलाई समेट्न सक्ने सम्भावना देखिएको छ। थिर गुरुङको नेतृत्वमा यो समूहले सामुदायिक हल, विद्यार्थी सहयोग, संस्थागत पारदर्शिता, महिला सहभागिता, युवा नेतृत्व विकास लगायतका विषयलाई प्राथमिकतामा राखेको छ।

गुरुङले निर्वाचनलाई समुदायमा एकताको अभ्यासका रूपमा लिँदै सबै मतदाताहरूलाई सकारात्मक र जिम्मेवार नेतृत्व चुन्न आग्रह गरेका छन्। “यो समय हाम्रो समाजमा विश्वास निर्माण गर्ने, भागीदारी बढाउने र संस्थागत विकासको आधार तयार गर्ने हो,” उनले भने।

निर्वाचन आउँदो शनिबार, जुलाई २६ तारिखका लागि तय गरिएको छ। Team SA ले समुदायको साथ, सुझाव र समर्थन लिएर संस्थालाई अझ प्रभावकारी, पहुँचयोग्य र समावेशी बनाउने दाबी गर्दै चुनावी मैदानमा उत्रिएको छ। अब, साउथ अष्ट्रेलियामा एनआरएनएको नेतृत्व कसको काँधमा पुग्ने भन्ने निर्णय मतदाताहरूले गर्नेछन्।