२०८२ चैत ८ आइतबार

अष्ट्रेलियामै जन्मिएर हुर्किएका आभासले दिए दोस्रो पुस्ताबाट एनआरएनए दक्षिण अष्ट्रेलियाको SCC सदस्य पदमा उम्मेदवारी

  • admin २०८२ श्रावाण ६ सोमबार

एडिलेड — आगामी जुलाई २६ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया निर्वाचन २०२५ का लागि दक्षिण अष्ट्रेलिया राज्य समन्वय समिति (SCC) सदस्य पदमा अष्ट्रेलियामा जन्मिएका दोस्रो पुस्ताका कान्छा उम्मेदवार आभास कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

आभास कंडेल अष्ट्रेलियामै जन्मिएर हुर्किएका नेपाली मूलका युवा हुन्, जसले बाल्यकालदेखि नै नेपाली संस्कृति, भाषा र समुदायसँगको आत्मीय सम्बन्धलाई जीवनशैलीको हिस्सा बनाउँदै आएका छन्। आफूले अनुभव गरेका दुई संस्कृतिबीचको सन्तुलन र दोस्रो पुस्ताका युवाले भोग्दै आएका चुनौतीहरूलाई गहिराइसँग बुझ्दै, उनले पुस्ताबीचको संवाद, प्रतिनिधित्व र समावेशी नेतृत्वको आवश्यकता महसूस गरेकाले यो जिम्मेवारीमा अघि सरेको बताउँछन्।

उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै भनेका छन् —
“म नेपाली–अष्ट्रेलियन समुदायबीचको सेतु बन्न चाहन्छु। विशेष गरी प्रवासमा हुर्किरहेका युवाहरूको आवाजलाई संस्थागत ढंगले प्रतिनिधित्व गर्ने, अवसर सिर्जना गर्ने र सबै पुस्तालाई समेट्ने एनआरएन अभियानमा योगदान पुर्‍याउने मेरो उद्देश्य हो।”

उनको उम्मेदवारी केवल उमेरकै हिसाबले कान्छो प्रतिनिधित्व नभई, सोच र दृष्टिकोणको दृष्टिले पनि नयाँ पुस्ताको उपस्थितिलाई संस्थामा स्थान दिनुपर्ने आवश्यकताको प्रतिविम्ब हो। समावेशी नेतृत्व,सांस्कृतिक सम्पर्क, मानसिक स्वास्थ्य, शिक्षा र युवा सशक्तिकरण जस्ता विषयमा विशेष रुचि राख्ने कंडेलले आफ्नो उम्मेदवारीलाई जिम्मेवारीसहितको अवसरका रूपमा लिएका छन्।

आभास कंडेलको उम्मेदवारीले एनआरएनए अष्ट्रेलियाको नेतृत्व संरचनामा पुस्तान्तरण, सहकार्य र भविष्य–मुखी दृष्टिकोणलाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ। दोस्रो पुस्ताको प्रतिनिधित्व र विविधता सुनिश्चित गर्न उनले उठाएको यो कदमलाई समुदायका धेरैले स्वागत गरिरहेका छन्।