२०८२ चैत ८ आइतबार

अष्ट्रेलियामा नयाँ एनआरएनए गठन: विवेक थापा संयोजकत्वमा ‘NRNA Australia’ को औपचारिक दर्ता

  • admin २०८२ श्रावाण ७ मङ्गलबार

सिड्नी,अष्ट्रेलिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय तहमा जारी विवाद अझै समाधान नहुदै अष्ट्रेलियामा नयाँ संस्था ‘NRNA Australia’ को औपचारिक दर्ता गरिएको छ। २०२५ जुलाई १८ मा अष्ट्रेलियामा सरकारी निकायमार्फत कानुनी रुपमा दर्ता गरिएको यस संस्थाको संयोजकत्व विवेक थापाले सम्हालेका छन्।

थापा अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अन्तर्गत महेश श्रेष्ठ नेतृत्वको एनआरएनएबाट अष्ट्रेलियामा ‘एकता अधिवेशन’ गराउने जिम्मेवारी पाएका व्यक्ति हुन्। तर, उनले आफूले अघि सारेका आधारभूत मागहरू सम्बोधन नभएपछि नयाँ संस्था स्थापना गर्नु परेको बताएका छन्। नयाँ संस्थाको नाम ‘Non Resident Nepali Association (NRNA) Australia’ राखिएको छ, जुन अघिल्लो एनआरएनए अष्ट्रेलियाको नामसँग हुबहु मेल खान्छ। फरक यति मात्रै छ कि यस संस्थाको नाममा ‘NRNA’ शब्दलाई कोष्ठभित्र राखिएको छ, जसले कानुनी रुपमा छुट्टै पहिचान दिन्छ।

३५ जना तदर्थ सदस्य र ८ जना सल्लाहकारसहित गठन भएको यो संस्थाले आफ्नै अनलाइन पोर्टलमार्फत सदस्यता खुला गरिसकेको छ। सदस्यता शुल्क १५ अष्ट्रेलियन डलर तोकिएको छ।

यो नयाँ संस्था गठन हुनुको पृष्ठभूमिमा एनआरएनए अन्तर्राष्ट्रिय तहको विवाद मुख्य कारक मानिएको छ। केही महिनाअघि शेष घलेको संयोजकत्वमा आयोजित ‘एकता महाधिवेशन’बाट महेश श्रेष्ठ अन्तर्राष्ट्रिय अध्यक्ष चुनिएका थिए। तर, अर्का पक्ष डा. बद्री केसीको नेतृत्वमा रहेको एनआरएनएले उक्त महाधिवेशनलाई अस्वीकार गर्दै अक्टोबरमा आफ्नै अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने अडान लिएको छ। यो नेतृत्व विवाद हाल नेपालको सर्वोच्च अदालतमा विचाराधीन छ।

यही विवादको पृष्ठभूमिमा विवेक थापालाई अष्ट्रेलियामा एकता सम्मेलन गराउने जिम्मा दिइएको थियो। तर, थापाले त्यसका लागि सदस्यता वितरणको छुट्टै पोर्टल बनाइनु पर्ने, महेश श्रेष्ठ नेतृत्वसँग कार्यगत समझदारी कायम गरिनुपर्ने, र पारदर्शी प्रक्रिया अपनाइनु पर्ने माग राखेका थिए। ती मागहरू पूरा नहुँदा अन्ततः नयाँ संस्था गठन गरिएको थापाले स्पष्ट पारेका छन्।

अर्कोतर्फ, अष्ट्रेलियामा यसअघि नै एनआरएनए (NRNA Australia) को निर्वाचन प्रक्रिया अगाडि बढिसकेको छ। अनिल पोखरेल संयोजक रहेको सो टिमले जुलाई २६ का लागि निर्वाचन तोकेको छ र आवश्यक तयारी पूरा भइसकेको जनाएको छ।

यी दुई संस्थाले एउटै नाम बोकेको भए पनि उद्देश्य, संरचना र प्रक्रिया फरक–फरक देखिन्छन्। एकातर्फ महेश श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय टोलीले विवेक थापाको संयोजकत्वमा नयाँ संस्था खडा गरेको छ भने अर्कातर्फ डा. बद्री केसी पक्षधर एनआरएनएले पुरानै संरचना अनुसार अगाडि बढ्ने घोषणा गरिसकेको छ। यो अवस्थाले अष्ट्रेलियामा रहेका नेपाली प्रवासीहरूलाई थप अन्योलमा पारेको छ। संस्थागत दोहोरोपन, नेतृत्व विवाद र सदस्यताको अव्यवस्थित व्यवस्थापनले एनआरएनएप्रति समुदायको भरोसा चुनौतीमा परेको छ।

अष्ट्रेलियामा एनआरएनएको नाममा अब दुई संस्था सक्रिय छन्। अबको प्रश्न भनेको यति मात्र हो—नेपाली समुदाय कुन संस्था तर्फ उन्मुख हुन्छ? एकता खोज्ने प्रयास सफल हुन्छ कि एनआरएनए अष्ट्रेलिया दुई धारमा विभाजित रहन्छ? यसले स्पष्ट देखाउँछ कि संस्थागत एकता, वैधानिकता र पारदर्शिताको सवालमा एनआरएनए अष्ट्रेलियाले अझै लामो बाटो तय गर्न बाँकी छ।

सदस्यता लिनका लागि यो लिङ्कमा जान सक्नुहुनेछ।

https://portal.nrnaa.org.au/membership-request?fbclid=IwY2xjawLr0mlleHRuA2FlbQIxMABicmlkETFlekphYW8yVUU4WTZSQWpQAR6J3pKj0xRylL6L9M_Pjss1ymktllhek0w15ZX3H3ziTWxKzpHUstmRSe7Zvg_aem_cACM79nfJr7-keO7OnPUEg