२०८२ चैत ८ आइतबार

नेपाल–अष्ट्रेलिया व्यवसायिक भेटघाट एडिलेडमा: अगस्ट १ मा उच्चस्तरीय “Meet & Greet” कार्यक्रम हुँदै

  • admin २०८२ श्रावाण १३ सोमबार

एडिलेड,अष्ट्रेलिया – नेपाल र अष्ट्रेलियाबीचको व्यवसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा सम्भावित साझेदारीका ढोका खोल्ने उद्देश्यसहित आगामी अगस्ट १, २०२५ (शुक्रबार) का दिन एडिलेडमा एक विशेष व्यवसायिक कार्यक्रम आयोजना हुँदैछ। “Connect & Collaborate: Meet & Greet” शीर्षकमा आयोजना हुने यो कार्यक्रम Australian Nepal Chamber of Commerce & Industries (ANCCI) को आयोजनामा Everest Restaurant & Event Centre, Plympton Park मा साँझ ५:३० देखि ८:३० सम्म सञ्चालन हुनेछ।

उक्त कार्यक्रममा नेपाल र अष्ट्रेलियाका प्रतिष्ठित व्यवसायी, उद्यमी, पेशेवर, समुदाय अगुवा तथा रणनीतिक सोच राख्ने व्यक्तित्वहरूको उपस्थिति रहनेछ। नेपालबाट नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का पूर्व अध्यक्ष कुश कुमार जोशी, चर्चित व्यवसायिक रणनीतिकार प्रदीप मान बैद्य, तथा पूर्व राजदूत प्रो. डा. रमेश कोइराला लगायत नेपालका १० जना वरिष्ठ व्यवसायिक व्यक्तित्वहरूको सहभागिता यस कार्यक्रममा विशेष आकर्षण रहनेछ।

कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाल र अष्ट्रेलियाबीच व्यापार, शिक्षा, पर्यटन, कृषि व्यवसाय, सूचना प्रविधि लगायतका क्षेत्रमा सहकार्यको सम्भावना पहिचान गर्नु हो। दुईदेशीय सम्बन्धलाई व्यवहारिक र संस्थागत रूप दिन कार्यक्रमले व्यवसायिक ज्ञान आदान–प्रदान, नयाँ नेटवर्क निर्माण तथा दीर्घकालीन सहकार्यका आधार तयार गर्ने लक्ष्य राखेको छ।

उक्त साँझ सहभागीहरूले नयाँ परियोजना र विचारहरू साझा गर्ने, भविष्यका योजनाबारे छलफल गर्ने र समान चासो भएका व्यक्तिहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने अवसर पाउनेछन्। कार्यक्रममा सहभागीहरूलाई रात्रिभोजको समेत व्यवस्था गरिएको छ, जसले आपसी संवादलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। कार्यक्रममा सहभागिता जनाउने इच्छुक व्यक्तिहरूलाई जुलाई ३१ भित्र अनिवार्य RSVP गर्न आयोजकले आग्रह गरेको छ। स्थान सीमित भएका कारण अग्रिम बुकिङको लागि यो लिगमा जान सक्नुहुनेछ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.eventbrite.com.au%2Fe%2Fconnect-collaborate-meet-greet-tickets-

ANCCI का अनुसार यो कार्यक्रम नेपाल–अष्ट्रेलियाबीचको आर्थिक तथा सामाजिक सम्बन्धमा नयाँ युगको सुरुवात हुने महत्वपूर्ण अवसर हो। विशेषतः अष्ट्रेलियामा रहेका नेपाली उद्यमी तथा व्यवसायिक भविष्य खोज्दै गरेका युवा पुस्तालाई यो कार्यक्रमले ठूलो हौसला र अवसर प्रदान गर्नेछ।

व्यवसाय र सहकार्यको सेतु निर्माण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यो ‘Meet & Greet’ कार्यक्रम नेपाली समुदायका लागि एउटा ऐतिहासिक र सम्भावनायुक्त क्षण बन्ने आयोजकको अपेक्षा छ।