२०८२ चैत ८ आइतबार

माउन्ट ग्याम्बियरमा तीज तथा दर कार्यक्रमको भव्य तयारी हुँदै

  • admin २०८२ श्रावाण १५ बुधबार

एडिलेड,अष्ट्रेलिया- नेपाली समुदायको मौलिक पर्व तीजको उल्लास अब अष्ट्रेलियाको माउन्ट ग्याम्बियरमा गुञ्जिने भएको छ। Mount Gambier Nepalese Community द्वारा आगामी २५ अगस्ट २०२५, सोमबारका दिन RSL and Bowling Club, Mount Gambier मा तीज तथा दर कार्यक्रमको आयोजना गरिँदैछ। कार्यक्रमलाई भव्य, सभ्य र सांस्कृतिक रूपमा सम्पन्न गर्न तयारी तीव्र गतिमा अघि बढाइएको छ।

माउन्ट ग्याम्बर दक्षिण अष्ट्रेलिया को दोस्रो ठूलो क्षेत्रीय शहर हो, जुन एडिलेडबाट करिब 450 किलोमिटर दक्षिण-पूर्वमा अवस्थित छ, र भिक्टोरिया राज्य सीमासँग मात्र १७ किलोमिटर टाढा छ । Mount Gambier Nepalese Community का अध्यक्ष ज्ञानेन्द्र पौडेलका अनुसार, नेपाली समुदाय बढ्दै गएकाले तीज कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो। पौडेलका अनुसार अध्ययन, रोजगार वा क्षेत्रीय भिसासम्बन्धी अवसरका कारण नेपालीहरू माउन्ट ग्याम्बर आउने क्रम जारी रहेको बताउनुभयो ।

“संगीत, नृत्य र नेपाली स्वाद” को समागम रहने यस कार्यक्रममा महिलाहरूका लागि विशेष दर भोजको व्यवस्था गरिनुका साथै आकर्षक सांस्कृतिक प्रस्तुति, सामूहिक नृत्य र मनोरञ्जनात्मक खेलहरूको आयोजना गरिनेछ। नेपाली समुदायको एकता, संस्कृति र आपसी आत्मीयताको भाव बढाउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रमका लागि स्थानीय स्वयंसेवकहरूले विभिन्न कार्यसमूहमा जुटेर तयारी सुरु गरेका छन्।

कार्यक्रमलाई व्यवस्थित बनाउने उद्देश्यले खाना तयारी, स्थल सजावट, दर्ता व्यवस्थापन, मनोरञ्जन संयोजन, फोहोर व्यवस्थापन, सफाइ, आईटी सहायता, नगद व्यवस्थापन र रनर टोली (आवश्यक सामग्री खरिदका लागि) जस्ता जिम्मेवारीहरू स्पष्ट रूपमा वर्गीकृत गरिएको छ। खाना पकाउने टोलीको नेतृत्व एक अनुभवी शेफले गर्नेछन्, जसले परिकारहरूको स्वाद र गुणस्तरमा विशेष ध्यान दिनेछन्।

कार्यक्रम आयोजकले सबैलाई आ–आफ्नो रुचिअनुसार कार्यक्षेत्र रोज्न आह्वान गर्दै तीजलाई केवल नाचगानको पर्व मात्र नभई सांस्कृतिक पहिचान र समुदायिक एकताको उत्सवको रूपमा स्थापित गर्ने उद्देश्य व्यक्त गरेका छन्।

Mount Gambier Nepalese Community को यो प्रयासले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूबीचको भावनात्मक सम्बन्धलाई थप बल दिनेछ र प्रवासमा नेपाली परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ।

सांस्कृतिक कार्यक्रम, स्वादिलो नेपाली खाना र रमाइलो माहोलसहितको यो तीज महोत्सव सबैका लागि अविस्मरणीय बन्ने अपेक्षा गरिएको छ।