अष्ट्रेलिया — फेडेरेसन अफ नेप्लिज कम्युनिटी असोसिएसन अफ अष्ट्रेलिया (FeNCAA)को निर्वाचन आयोगले 2025–2027 कार्यकालका लागि निर्वाचित कार्यसमिति र राज्य संयोजकहरूको नाम सार्वजनिक गरेको छ। संवैधानिक प्रावधानअनुसार नयाँ कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ।

यसपटकको निर्वाचनमा क्वीन्सल्यान्ड (QLD) र नर्दर्न टेरिटोरी (NT) का राज्य संयोजक पदहरू खाली रहे पनि बाँकी सबै कार्यसमिति र राज्य संयोजक पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका छन्। खाली पदमा नियुक्ति नयाँ कार्यसमितिद्वारा गरिनेछ।
निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष मधु सुन्दर पुडासैनी (NSW), उपाध्यक्ष कपिल पाण्डे (SA), महासचिव भोला गिरि (VIC), सहायक महासचिव प्रकाश पौडेल (NSW), कोषाध्यक्ष जीवन राना (ACT), सहायक कोषाध्यक्ष केदार रिजाल (WA), प्रवक्ता केशव शर्मा (QLD) र सहायक प्रवक्ता सुरेन रेज्मी (SA) रहेका छन्।
त्यस्तै, राज्य संयोजकमा ACT का सुरज पौडेल, NSW मुक्ति राम पोखरेल, SA पुष्कर कोइराला, TAS कमल भण्डारी, VIC कृष्णबहादुर महरा क्षेत्री र WA दिली राम पराजुली निर्वाचित भएका छन्। QLD र NT को संयोजक पद भने पछि आपसी समझदारीबाट नियुक्त गरिने फेन्काले जनाएको छ।।
निर्वाचन आयोगले 2023–2025 कार्यकालका पदाधिकारीहरूको योगदानप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल नेतृत्वको शुभकामना दिएको छ। नयाँ कार्यसमितिको शपथग्रहण आगामी 23 अगस्ट 2025 मा ब्रिसबेनमा हुने वार्षिक साधारण सभा (AGM)मा हुनेछ।

तपाइँको प्रतिक्रीया