२०८२ फागुन १८ सोमबार

एडिलेडमा तीज धमाका भोल्युम ७-प्रवेश निःशुल्क, लोकप्रिय कलाकारहरूको प्रस्तुति

  • admin २०८२ भाद्र २ सोमबार

एडिलेड/ एडिलेडमा यस वर्षको तीज पर्व विशेष र भव्य हुने भएको छ । नेपाली महिलाहरूको महान् पर्व तीजको उल्लासलाई जीवन्त राख्न गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेन्टको आयोजना तथा ग्रेस इन्टरनेशनल एडिलेडको टाइटल स्पोन्सरशिपमा ‘तीज धमाका भोल्युम ७’ आगामी २२ अगस्ट २०२५, शुक्रबार वुडभिल टाउन हलमा हुने पक्का भएको छ।

साँझ ५ बजेदेखि सुरु हुने यस कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ, जसले गर्दा एडिलेड र वरपरका सम्पूर्ण नेपाली समुदायका दिदीबहिनी, दाजुभाइ र अभिभावकहरूलाई सहज सहभागिताको अवसर उपलब्ध हुनेछ । यस वर्षको तीज धमाकामा नेपालका चर्चित कलाकारहरू खे्म सेन्चुरी, सुनिता बुढा क्षेत्री, जनुका तामाङ र स्थानीय कलाकारहरू स्वस्तिका खत्री र अशिका राईले विशेष प्रस्तुति दिनेछन् । तीजको उल्लासमय वातावरणलाई झनै आकर्षक बनाउन कार्यक्रमको सञ्चालन शबा डीसी र प्रेरणा ढुङ्गानाले गर्नेछन्।

तीजको महत्व केवल एक दिनको धार्मिक र सांस्कृतिक उत्सवमा मात्र सीमित छैन । यो पर्व महिलाहरूको आत्मबल, श्रद्धा र परिवारप्रतिको समर्पणको प्रतीक मानिन्छ। हिन्दू परम्पराअनुसार तीजको दिन महिलाहरूले शिव–पार्वतीको पूजा गर्दै परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्ने चलन छ। नेपालमा तीज दिदी–बहिनीको भेटघाट, मायाँ–ममता र आत्मीयता साट्ने अवसर हो भने, विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि आफ्नो मौलिक संस्कृति, पहिचान र सामाजिक सम्बन्धलाई जोगाउने महत्त्वपूर्ण माध्यम पनि हो। एडिलेडजस्तो बहुसांस्कृतिक शहरमा तीजजस्ता पर्वहरूले नेपाली समुदायलाई मात्र होइन, अन्य संस्कृतिका मानिसलाई पनि हाम्रो सांस्कृतिक धरोहरसँग परिचित गराउने अवसर प्रदान गर्छन्।

आयोजक गिरिश इभेन्ट एण्ड इन्टरटेन्मेन्टका निर्देशक गगन गिरीका अनुसार, यस वर्षको तीज धमाका केवल मनोरञ्जनको लागि मात्र होइन, नेपाली संस्कृति र परम्परालाई नयाँ पुस्तामा स्थानान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको हो। उनले सम्पूर्ण नेपाली भाषी दाजुभाइ, दिदीबहिनी र अभिभावकहरूलाई कार्यक्रममा उपस्थित भई यो पर्वलाई अझ भव्य र सफल बनाउन आग्रह गरेका छन्।

विभिन्न सामुदायिक संस्था, व्यवसायिक प्रतिष्ठान, मिडिया तथा प्रविधिक साझेदारहरूको साथमा आयोजना हुन लागेको यो कार्यक्रम एडिलेडको नेपाली समुदायको साझा उत्सवका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। तीजको गीत, नृत्य, र भेटघाटको उल्लासले यस वर्षको तीज धमाकालाई अविस्मरणीय बनाउने विश्वास गरिएको छ।