२०८२ चैत ८ आइतबार

सिड्नीमा नन्द गुरुङको पुस्तक ‘सफलताको उपाय’ लोकार्पण

  • admin २०८२ कातिर्क २५ सोमबार

सिड्नी, अष्ट्रेलिया — अष्ट्रेलियामा तीन दशकदेखि सक्रिय समाजसेवी तथा सफल व्यवसायी नन्द गुरुङद्वारा लिखित पुस्तक ‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थान : सफलताको उपाय (A Blueprint of Success)’ को भव्य लोकार्पण समारोह आइतबार ओबर्नस्थित ग्राण्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्न भयो।

कार्यक्रमकी प्रमुख अतिथि अष्ट्रेलियास्थित नेपालकी राजदूत चित्रलेखा यादव, विशेष अतिथि न्यू साउथ वेल्सका वाणिज्यदूत सञ्जीव शर्मा र नेपालबाट आएका बर्डलाइफ इन्टरनेशनल (एशिया) का वरिष्ठ साझेदारी प्रबन्धक डा. हुमबहादुर गुरुङले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।

राजदूत यादवले विदेशमा रहेर मातृभूमिप्रतिको माया झल्काउने यस्ता कृतिहरू नेपाली समाजका लागि प्रेरणादायी हुने बताइन्। वाणिज्यदूत शर्माले प्रवासी नेपालीहरूका सृजनात्मक पहलहरूले समुदायको पहिचानलाई मजबुत बनाउने उल्लेख गरे भने डा. गुरुङले पुस्तकले समुदाय, प्रकृति र आत्मविकासबीच सन्तुलन प्रस्तुत गरेको बताए।

कार्यक्रममा तमु समाज अष्ट्रेलियाका अध्यक्ष हेउपती गुरुङ, साहित्यकार ममता तिवारी, एनजा सल्लाहकार डिल्लि ढकाल, डा. घनश्याम चापागाईं, सुजाता बस्नेत, दीप नारायण चौधरी, पत्रकार संघ (एन्जा) का अध्यक्ष कृष्ण तिवारीलगायतको सहभागिता थियो।

कार्यक्रमको सञ्चालन सबला बस्नेतले गरेकी थिइन्। लेखक गुरुङले अतिथि र सहभागीहरूलाई धन्यवाद दिँदै पुस्तक आफ्नो जीवनका अनुभव र सिकाइको प्रतिबिम्ब रहेको बताए।