एडिलेड,अष्ट्रेलिया / चितवन समाज साउथ अष्ट्रेलियाले आफ्नो दोस्रो साधारण सभा उत्साहपूर्ण तथा गरिमामय वातावरणमा सम्पन्न गरेको छ। संस्थाको निरन्तरता, संगठनात्मक सुदृढीकरण र आगामी कार्ययोजनाबारे व्यापक छलफलसहित सम्पन्न सभाले सात सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ, जसमा कौशल उप्रेती सर्वसम्मत रूपमा अध्यक्ष चुनिएका छन्।
सभाले काजल गैर्हेलाई उपाध्यक्ष, रेशम राज शर्मालाई सचिव, पुकार श्रेष्ठलाई कोषाध्यक्ष, मनिष दहाललाई सह–सचिव तथा दया राम पौडेल र पानस तामाङलाई सदस्यका रूपमा चयन गरेको छ। समितिलाई चाँडै पूर्णता प्रदान गरिने जानकारी दिइएको छ। नयाँ कार्यसमितिले प्रवासी चितवनवासीहरूको हित, सांस्कृतिक पहिचानको संरक्षण, सामाजिक समन्वय र आवश्यकताअनुसार सहयोग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष उत्तम अधिकारीले संस्थाले विगत दुई वर्षमा सम्पन्न गरेका गतिविधि, समुदायसँगको अन्तरक्रिया, सामना गरेका चुनौती तथा प्राप्त उपलब्धिबारे विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गरे। उनले संस्थालाई समावेशी, पारदर्शी र सहकार्यमा आधारित बनाएर अघि बढाउन समुदायको निरन्तर समर्थनले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। त्यस्तै, निवर्तमान कोषाध्यक्ष सुदर्शन उप्रेतीले आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको आय–व्यय, योजनाबद्ध खर्च तथा आर्थिक पारदर्शिताको अवस्थाबारे सहभागीहरूलाई जानकारी गराए।
कार्यभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष कौशल उप्रेतीले आफू विश्वास र जिम्मेवारीसहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै संस्थालाई अझ सक्षम, सक्रिय र उदाहरणीय बनाउने लक्ष्य प्रस्तुत गरे। “समुदायको पहिचान, एकता र समग्र उत्थानका लागि आगामी दिनहरूमा तपाईंहरूको निरन्तर सुझाव, साथ र सहयोगको अपेक्षा गर्दछु,” उनले आफ्नो मन्तव्यमा उल्लेख गरे।
सभामा सहभागी सदस्यहरूले संस्थाको निरन्तर प्रगति, सक्रियता तथा नयाँ नेतृत्वप्रति व्यक्त गरिएको विश्वासलाई सकारात्मक रूपमा स्वागत गरेका थिए। नयाँ कार्यसमितिले चितवन समाज साउथ अष्ट्रेलियालाई प्रवासी चितवन समुदायको सशक्त प्रतिनिधिका रूपमा मात्र नभई सांस्कृतिक चेतना, सामाजिक सेवाभाव र समग्र विकासमा उन्मुख संस्थाका रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
निवर्तमान अध्यक्ष उत्तम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन निवर्तमान सचिव अचुत धमलाले गरेका थिए।











तपाइँको प्रतिक्रीया