एडिलेड, अष्ट्रेलिया — तमु धी साउथ अष्ट्रेलिया (TDSA) ले गुरुङ समुदायको मौलिक र ऐतिहासिक पर्व तमु ल्होसार २०८२ यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी गरेको छ। बूमराङ इन्टरनेशनल एजुकेशनल सर्भिसेजको मुख्यप्रायोजनमा आयोजना हुन लागेको यो विशेष पर्व आगामी ३० डिसेम्बर २०२५ मा प्रतिष्ठित Woodville Town Hall मा सम्पन्न हुने भएको छ। गुरुङ समुदायको मूल सन्देश—“शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मानिस नै हराउँछ”—लाई केन्द्रमा राखेर TDSA ले २०१७ देखि निरन्तर यस पर्वलाई सांस्कृतिक गौरवसाथ मनाउँदै आएको छ।

गुरुङ समुदायले १२-वर्षे चक्रअनुसार प्रत्येक वर्ष नयाँ “ल्हो” अर्थात् नयाँ वर्षको स्वागत गर्ने परम्परा छ। यस वर्ष सर्प ल्हो (सप्री ल्हो) लाई बिदाइ गर्दै घोडा ल्हो (त ल्हो) को स्वागत गरिँदैछ। विश्वभरि जहाँ बसे पनि गुरुङ समुदायले पौष १५ लाई आधार मानेर यो पर्व मनाउने परम्परा सदैव जीवित छ, र एडिलेडमा बसोबास गर्ने गुरुङ तथा अन्य समुदायका नेपालीहरूले पनि यसलाई उत्साहपूर्वक मनाउँदै आएका छन्।
यस वर्षको कार्यक्रम बेलुकी ५ बजेदेखि Woodville Town Hall मा सुरु हुने TDSA ले जनाएको छ। कार्यक्रममा पूजाआजा सहित गुरुङ परम्परागत पहिरन, नृत्य, सांस्कृतिक प्रस्तुति, लाइभ म्युजिक, राफल तथा फोटोग्राफीसहितको औपचारिक कार्यक्रम सञ्चालन हुनेछ। TDSA का अध्यक्ष सीमा गुरुङका अनुसार, गुरुङ समुदायको मात्र नभई सम्पूर्ण नेपाली तथा बहुसांस्कृतिक समुदायलाई समेटेर यो पर्वलाई अझ विस्तृत र समावेशी बनाइनेछ। निःशुल्क प्रवेश रहेको कार्यक्रम सबै उमेर समूहका लागि खुला राखिएको छ, र सहभागीका लागि खाजा तथा खानाको पनि व्यवस्था गरिएको छ।
तामु ल्होसार गुरुङ समुदायको इतिहास, परम्परा र पहिचानलाई संरक्षण गर्ने मात्र पर्व होइन, सामाजिक एकता र सांस्कृतिक हस्तान्तरणको माध्यम पनि हो। तिब्बती पात्रोअनुसार मनाइने यो नयाँ वर्षले प्रकृति, पूर्वज र सांस्कृतिक मूल्यप्रतिको सम्मान प्रकट गर्छ। एडिलेडमा बसोबास गर्ने नयाँ–पुराना पुस्ताबीच सम्बन्ध, भाषा र परम्परा जोड्ने कार्यमा TDSA लगातार सक्रिय रहँदै आएको छ।
कार्यक्रमबारे जानकारी दिँदै TDSA की सचिव अनिता गुरुङले सबैको साथ, सहयोग र उपस्थिति नै तामु ल्होसारलाई अझ सशक्त, आकर्षक र सफल बनाउन महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार विविध सांस्कृतिक प्रस्तुति, परम्परागत वेशभूषा र सामुदायिक एकताको सुन्दर झलकसहित यो वर्षको ल्होसार विशेष र स्मरणीय बन्नेछ।


तपाइँको प्रतिक्रीया