२०८२ चैत १० मङ्गलबार

भवन निर्माण भ्रष्टाचार अभियोगमा बुढीगंगाका पूर्वमेयरसहित १४ जनाविरुद्ध मुद्दा, सवा ३ करोड बिगो

  • admin २०८२ पौष २० आइतबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुरास्थित बुढीगंगा नगरपालिकाको भवन निर्माणमा अनियमितता ठहर गर्दै तत्कालीन नगर प्रमुखसहितका १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै तत्कालीन नगरप्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथलगायत १४ जना विरुद्ध अख्तियारले आरोप-पत्र दायर गरेको हो ।

पूर्वनिर्धारित योग्यताको आधारमा अमुक निर्माण व्यवसायीसँग मिली देशमा कतै नभएको योग्यताको आधार लिई, अनावश्यक रूपमा प्रतिस्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको उजुरी छानबिन गर्दा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।

जाग्रिति/एम.के.नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोप-पत्रमा उल्लेख छ ।
अख्तियारले ३ करोड २६ लाख ७८ हजार १७१ रुपैयाँ अनियमितता गरेको ठहर गरेको छ ।