काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ। जेनजी आन्दोलनका घटनाको छानबिन तथा जाँचबुझ आयोगले ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको हो।
यसअघि उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छोड्न रोक लगाएको थियो। जेनजी घटनाका बारेमा सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भएकाले ओलीलाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय अब औचित्यहिन भएको आयोगले जनाएको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।

ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको जनाएको छ। सोधपुछको प्रक्रिया सकिएकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन्।
यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उनलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।

तपाइँको प्रतिक्रीया