२०८२ चैत ८ आइतबार

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामाको निर्देशन

  • admin २०८२ पौष २२ मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न उठाउँदै राजनीतिक गतिविधि नगर्नेमात्रै आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहनुपर्ने बताएकी थिइन । विशेषगरी तीन मन्त्रीमा पनि कुलमान घिसिङको सक्रियतालाई लिएर प्रधानमन्त्री बढी गम्भीर बनेको बताइएको छ ।

हालै कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई रास्वपामा मिसाएका थिए । सोही पार्टीमा रास्वपाले कुलमानलाई उपाध्यक्ष बनाएको छ ।

यस्तै रास्वपाको गतिविधिमा बब्लु पनि देखिँदै आएका छन् भने सञ्चारमन्त्रीले समेत आफ्नो स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएका थियो ।