२०८२ चैत १ आइतबार

एनआरएनए साउथ अस्ट्रेलियामा २०२५–२०२७ कार्यकालका लागि नयाँ सल्लाहकार टोली गठन

  • admin २०८२ पौष २४ बिहीबार

एडिलेड — गैरआवासीय नेपाली संघ (NRNA) साउथ अस्ट्रेलियाले २०२५–२०२७ कार्यकालका लागि नयाँ Advisory Team गठन गरेको छ। संघका अनुसार नेपाली समुदायमा लामो समयदेखि सक्रिय, अनुभवसम्पन्न तथा विविध पेशागत पृष्ठभूमिका व्यक्तिहरूलाई समेट्दै सल्लाहकार टोली निर्माण गरिएको हो।

नव–गठित Advisory Team मा, अर्जुन बुरलाकोटी, चेवान अधिकारी, दयाराम पौडेल, देवेन्द्र खरेल, दिपेश राज पाण्डे, क्षितिज सापकोटा, प्रकाश थापा, राजन लामिछाने, आरके शर्मा, संजय पुरी, सन्तोष बस्नेत, शबा डीसी, शिव काफ्ले, श्याम दाहाल र विनोद वनिया रहनुभएको छ।

संघले सल्लाहकार टोलीको भूमिका संस्थागत सुशासन सुदृढ गर्ने, दीर्घकालीन रणनीतिक योजना निर्माणमा सहयोग पुर्‍याउने, नेतृत्वलाई आवश्यक मार्गदर्शन दिने तथा समुदायका आवाजलाई संस्थाभित्र प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित तय गरिएको जनाएको छ।

यस सन्दर्भमा NRNA South Australia का संयोजक थिर गुरुङले नयाँ सल्लाहकार टोलीप्रति भरोसा व्यक्त गर्दै भन्नुभयो, “नयाँ Advisory Team मा रहनुभएका सबै सदस्यहरू अनुभव, क्षमता र समुदायप्रतिको प्रतिबद्धताका हिसाबले सक्षम हुनुहुन्छ। उहाँहरूको सुझाव, मार्गदर्शन र सहकार्यले एनआरएनए साउथ अस्ट्रेलियालाई अझ पारदर्शी, उत्तरदायी र समुदाय–मुखी संस्थाका रूपमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछु।”

यसै कार्यकालका लागि सञ्जोग पराजुली लाई एनआरएनए साउथ अस्ट्रेलियाको Public Officer पदमा मनोनयन गरिएको छ। संघका अनुसार प्रशासनिक, कानुनी तथा सार्वजनिक समन्वयसम्बन्धी दायित्वहरू प्रभावकारी रूपमा सञ्चालन गर्न उहाँको भूमिका महत्वपूर्ण रहनेछ।
एनआरएनए साउथ अस्ट्रेलिया अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको साझा प्रतिनिधि संस्थाका रूपमा सामाजिक एकता प्रवर्द्धन, आपतकालीन सहयोग, सांस्कृतिक पहिचान संरक्षण तथा नेपालसँगको सम्बन्ध मजबुत बनाउने कार्यमा निरन्तर सक्रिय रहँदै आएको छ। नयाँ संरचना र सल्लाहकार टोलीको मार्गदर्शनमा संस्थाले आगामी दिनमा अझ प्रभावकारी, समावेशी र परिणाममुखी कार्यक्रम अघि बढाउने अपेक्षा गरिएको छ।