२०८२ चैत १ आइतबार

एनआरएनए साउथ अस्ट्रेलियाले बोलायो सामुदायिक संवाद, सहभागिताको आग्रह

  • admin २०८२ पौष २५ शुक्रबार

एडिलेड — गैरआवासीय नेपाली संघ (एनआरएनए) साउथ अस्ट्रेलियाले नेपाली समुदायका सरोकार, अपेक्षा र भावी योजनाबारे व्यापक छलफल गर्ने उद्देश्यसहित सामुदायिक परामर्श कार्यक्रम आयोजना गर्ने भएको छ। संघले समुदायसँग प्रत्यक्ष संवाद गर्दै पारदर्शी, समावेशी र उत्तरदायी संस्थागत अभ्यासलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

एनआरएनए साउथ अस्ट्रेलियाका अनुसार परामर्श कार्यक्रममा समुदायले संघ–संस्थाबाट के–कस्ता अपेक्षा राखेका छन्, एनआरएनए लगायत विभिन्न संस्थाहरूको भूमिका तथा जिम्मेवारी के हुनुपर्छ भन्ने विषयमा गहन छलफल गरिनेछ। साथै समुदाय सदस्यहरूको कर्तव्य, सामूहिक प्रतिबद्धता, आपसी विश्वास सुदृढ गर्ने उपाय, तथा नेपाली समुदायको दीर्घकालीन हितका लागि आवश्यक नीति, कार्यक्रम र रणनीतिक योजनामाथि समेत विचार–विमर्श हुनेछ।

कार्यक्रममा सहभागीहरूबाट प्राप्त सुझाव, धारणा र आलोचनालाई संघको आगामी कार्ययोजना निर्माण, कार्यक्रम प्राथमिकता निर्धारण तथा संस्थागत सुधारका प्रक्रियामा समेटिने एनआरएनए साउथ अस्ट्रेलियाले स्पष्ट पारेको छ। समुदायको आवाजलाई केन्द्रमा राखेर निर्णय प्रक्रिया अघि बढाउने संघको प्रतिबद्धता यस परामर्शमार्फत झन् सशक्त हुने अपेक्षा गरिएको छ।

यसैबीच, एनआरएनए साउथ अस्ट्रेलियाका संयोजक थिर गुरुङले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आफ्ना विचार र धारणा राखिदिनुहुन अनुरोध गर्नुभएको छ। सामुदायिक परामर्श कार्यक्रम शनिबार, ७ फेब्रुअरी २०२६ का दिन बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म एडिलेडको प्लाइम्पटन पार्कस्थित एभरेस्ट रेस्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा आयोजना हुनेछ।