२०८२ चैत १ आइतबार

ब्रिस्बेनमा नेपाली राहदानी नवीकरण सेवा सञ्चालन हुने

  • admin २०८२ माघ ३ शुक्रबार

ब्रिस्बेन- ब्रिस्बेनमा क्वीन्सल्याण्ड राज्यभरीका नेपालीहरूका लागि राहदानी नवीकरण सेवा संचालन हुने भएको छ । क्यानबेरास्थित नेपाली दूतावास र एनआरएनए क्वीन्सल्याण्ड (NRNA QLD) को समन्वयमा आगामी जनवरी २८ देखि ३१, २०२६ सम्म ब्रिस्बेनस्थित NRNA QLD कार्यालयमा यो सेवा उपलब्ध गराइने भएको छ। यसले क्यानबेरासम्म यात्रा गर्नु पर्ने झन्झट कम गर्दै क्वीन्सल्याण्डवासी नेपालीहरूलाई सेवा घरमै प्राप्त गर्न सजिलो बनाउने विश्वास व्यक्त गरिएको छ।

ब्रिस्बेनमा राहदानी नवीकरण सेवा लिन चाहने सबै व्यक्तिले अनिवार्य रूपमा अनलाइन बुकिङ फारम भर्नुपर्ने व्यवस्था गरिएको छ। फारम पूरा गरेपछि NRNA QLD का प्रतिनिधिले सेवा समय र अपोइन्टमेन्ट पुष्टि गर्दै सेवाग्राहीलाई सम्पर्क गर्ने व्यवस्था मिलाइनेछ। यसले सेवाग्राहीलाई आफ्नो अनुकूल समयमा सेवा लिन सहजता प्रदान गर्नेछ।

एनआरएनए क्वीन्सल्याण्डका संयोजक अतुल खड्काले यस संधर्भमा समुदायप्रति आफ्नो आशा व्यक्त गर्दै भन्नुभयो कि “क्वीन्सल्याण्डमा बसोबास गर्ने हाम्रा दाजुभाइ र दिदीबहिनीहरूलाई दूतावाससम्म लामो यात्रा र समय खर्च गर्नु नपरोस् भनेर ब्रिस्बेनमै यो अवसर मिलाइएको हो । सेवा लिन चाहने सबैले समयमै अनलाइन फारम भर्नुहोस् । हामीले सबै सेवाग्राहीलाई उपलब्ध समय भित्र सेट अपोइन्टमेन्ट दिन पहल गरिरहेका छौँ ।” उहाँले यो सेवा समुदायका लागि ठूलो सहजता र सहयोग भएको दाबी गर्नुभयो।

यसअघि, नेपाली नागरिकले पासपोर्ट नवीकरणका लागि क्यानबेराको दूतावाससम्म व्यक्तिगत रूपमा जानु पर्ने कठिनाइ थियो, जसले समय, यात्रा खर्च र समयतालिका व्यवस्थापनमा चुनौती पैदा गरिरहेको थियो। अब ब्रिस्बेनमै सेवा उपलब्ध हुँदा ती सबै झन्झट हरु कम हुने अपेक्षा गरिएको छ।

एनआरएनए क्वीन्सल्याण्डले विशेषगरी क्वीन्सल्याण्डभरि रहेका नेपाली समुदायलाई यस सेवाको लाभ उठाउन समयमै अनलाइन बुकिङ गर्नु हुन आग्रह गरेको छ, जसले धेरै नेपालीलाई आफ्नो राहदानी समयमै नवीकरण गर्न मद्दत पुग्नेछ।