सिड्नी — न्यू साउथ वेल्स (NSW) सरकारले विदेशी लाइसेन्सधारी चालकहरूका लागि कडा नयाँ नियम लागू गर्ने घोषणा गरेको छ। आगामी १ फेब्रुअरी २०२६ देखि १६ देशबाट जारी भएका ड्राइभिङ लाइसेन्सधारीले उमेरको हद नहेरी अनिवार्य रूपमा लिखित (knowledge) र प्रायोगिक (practical) ड्राइभिङ परीक्षा पास गरेपछि मात्र NSW लाइसेन्स प्राप्त गर्न सक्नेछन्।

हालसम्म ती देशका २५ वर्षमुनिका चालकहरूलाई मात्र परीक्षा दिनुपर्ने व्यवस्था थियो। नयाँ नियमसँगै NSW अस्ट्रेलियाका अन्य सबै राज्य तथा क्षेत्रसँग समान नीति अपनाउने भएको सरकारको भनाइ छ।सरकारका अनुसार सडक सुरक्षासम्बन्धी अन्य नियमहरू भने यथावत् रहनेछन्। जसअन्तर्गत, जहाँबाट लाइसेन्स जारी भएको भए पनि यदि कुनै चालकले १३ डिमेरिट पोइन्ट जम्मा गरे भने उनीहरू स्वतः NSW मा सवारी चलाउन अयोग्य ठहरिनेछन्।

यसअघि सन् २०२३ देखि चीन, भारत, पाकिस्तान र नेपालका भिसाधारीहरूले NSW मा ६ महिनाभन्दा बढी बस्दा ड्राइभिङ टेस्ट पास गर्नुपर्ने व्यवस्था लागू भइसकेको छ। तर सबै विदेशी चालकहरूलाई यो नयाँ नियमले असर गर्ने छैन। Transport for NSW का अनुसार २८ मान्यता प्राप्त देशका लाइसेन्सधारीहरूले भने परीक्षण बिना नै आफ्नो विदेशी लाइसेन्स NSW लाइसेन्ससँग साट्न पाउने व्यवस्था यथावत् रहनेछ।

यसैबीच, अस्ट्रेलियाका सबै यातायात निकायहरूको प्रतिनिधि संस्था Austroads ले नयाँ देशहरूलाई Recognised Country Scheme अन्तर्गत समेट्ने प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ। मूल्याङ्कन प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएपछि यस्तो निर्णय लिइएको जनाइएको छ।सरकारले यी सुधारहरूले NSW मा सडक सुरक्षालाई थप मजबुत बनाउने र राष्ट्रिय स्तरमा एकरूपता कायम गर्ने विश्वास व्यक्त गरेको छ।

तपाइँको प्रतिक्रीया