२०८२ चैत १ आइतबार

साउथ अस्ट्रेलियामा FeNCAA ले आयोजना गर्‍यो ‘कम्युनिटी वेलबिइङ लिडर्स वर्कशप’

  • admin २०८२ माघ १२ आइतबार

अस्ट्रेलिया — नेपाली समुदायभित्र लुकेर रहेका ग्याम्बलिङ, मदिरा सेवन र लागूऔषध प्रयोगका असरका विषयमा बहुसंख्यक मानिस मौन रहन्छन्। धेरैले “समाजले के भन्ला” भन्ने डरका कारण आवश्यक सहयोग खोज्नबाट टर्छन्, जसले व्यक्तिगत मात्र होइन, परिवार र समुदायमा समेत दीर्घकालीन असर पार्ने गरेको देखिन्छ। यस मौनतालाई तोड्दै Federation of Nepali Community Associations Australia (FeNCAA) ले साउथ अस्ट्रेलियामा ‘Community Wellbeing Leaders Workshop’ आयोजना गर्ने भएको छ।

कार्यक्रम फेब्रुअरी ५, २०२६ मा Relationships Australia, 49A Orsmond St, Hindmarsh SA 5007 मा हुने छ। सहभागीहरूलाई बेलुका ४:३० बजे दर्ता र ५ बजे औपचारिक कार्यक्रम सुरु हुने जानकारी FeNCAA ले दिएको छ। यो वर्कशप केवल जानकारीमूलक बैठक मात्र नभई समुदायभित्रै प्रभावकारी सहयोग र समर्थनको नेटवर्क निर्माण गर्ने प्रयास पनि हो।

FeNCAA साउथ अस्ट्रेलियाका संयोजक पुष्कर कोइराला का अनुसार, “हाम्रो समुदायमा धेरै समस्याहरू निजी तथा संवेदनशील हुने भएकाले धेरैले सहयोग खोज्न ढिला गर्छन्। यो वर्कशपले नेतृत्वकर्ताहरूलाई सही ज्ञान, व्यवहारिक उपकरण र संवेदनशीलता प्रदान गरेर आफ्ना संस्थामार्फत समस्या समाधान गर्न सहयोग गर्नेछ। सहानुभूति र ज्ञानको नेतृत्वबाट मात्र हामी स्वस्थ र सुरक्षित समुदाय निर्माण गर्न सक्छौँ।”

कार्यक्रममा Relationships Australia र Alcohol and Drug Foundation (ADF) जस्ता सेवा प्रदायक संस्थाका विशेषज्ञहरूले सहभागीहरूलाई लतसम्बन्धी समस्या, मानसिक स्वास्थ्य र पारिवारिक सम्बन्ध सुधारका उपायबारे जानकारी दिनेछन्। सहभागीहरूले व्यवहारिक सहायता, सन्दर्भ सेवा (referrals) र समुदायभित्र लागू गर्न सकिने कार्यक्रम मोडेलबारे प्रत्यक्ष मार्गदर्शन पाउनेछन्।

कार्यक्रमको उद्देश्य समुदाय, जातीय र खेलकुद संगठनका नेतृत्वकर्ताहरूलाई सुसूचित गर्नु मात्र होइन, उनीहरूलाई यस्तो वातावरण सिर्जना गर्न सक्षम बनाउनु पनि हो जहाँ प्रभावित व्यक्ति खुला रुपमा सहयोग खोज्न सकून्। FeNCAA ले यस वर्कशपमार्फत समुदायमा मौनता र कलंकको साईकल तोड्दै सहयोग, समझदारी र स्वस्थ जीवनशैलीको सन्देश फैलाउने योजना बनाएको छ।

FeNCAA का संयोजक पुष्कर कोइरालाले सबै नेपाली तथा बहुसांस्कृतिक समुदायका संस्था प्रमुख, सामाजिक अभियन्ता र खेलकुद संगठनका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेका छन्।