एडिलेड, अष्ट्रेलिया — नेपाली भजन कीर्तन समूह एडिलेडको आयोजनामा महाशिवरात्रिको पावन अवसरमा व्रतपूजा तथा भजन–कीर्तन कार्यक्रम २०२६ फागुन ३, २०८२ (१५ फेब्रुअरी २०२६) आइतबारका दिन क्लोभर्ली पार्कस्थित कोस्ग्रोभ हलमा आयोजना हुने भएको छ। दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा श्रद्धा, भक्ति र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रम बिहान २:०० बजे स्वस्तिवाचनबाट सुरु भई विधिपूर्वक पूजा, रुद्राभिषेक, आरती, पुष्पाञ्जली, भजन–सङ्कीर्तन तथा प्रसाद वितरण हुँदै राति १०:०० बजेसम्म सञ्चालन हुने तालिका तय गरिएको छ। विशेष पूजाअर्चनामा गुरु मुरारी सुवेदी (शास्त्री) ले वैदिक विधिअनुसार पूजा सम्पन्न गराउँदै महाशिवरात्रिको आध्यात्मिक महत्त्व र व्रतको मर्मबारे प्रवचन दिने कार्यक्रम छ।
कार्यक्रमबारे जानकारी दिँदै भजन कीर्तन समूहका अध्यक्ष डा. दया पराजुलीले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, “महाशिवरात्रि केवल एउटा धार्मिक पर्व मात्र होइन, यो आत्मशुद्धि, संयम र भक्तिको प्रतीक हो। प्रवासमा रहेर पनि आफ्ना धर्म, संस्कार र सांस्कृतिक पहिचानलाई जीवित राख्न यस्तो सामूहिक कार्यक्रममा सहभागिता अत्यन्त आवश्यक छ। बालबालिका, युवा, अभिभावक सबैलाई परिवारसहित उपस्थित हुन म हार्दिक निमन्त्रणा गर्दछु।”
नेपाली भजन कीर्तन समूह एडिलेड विगत करिब एक दशकदेखि दक्षिण अस्ट्रेलियामा नेपाली समुदायभित्र धार्मिक, सांस्कृतिक र आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्दै आएको सक्रिय संस्था हो। संस्थाले नियमित भजन–कीर्तन, सत्सङ्ग, पर्व विशेष कार्यक्रम, सामूहिक पूजा तथा प्रवचनमार्फत समुदायमा धर्म, संस्कार र सद्भावको संस्कृति विस्तार गर्दै आएको छ। साथै, पुस्तान्तरणमार्फत बालबालिका र युवालाई नेपाली भाषा, संस्कृति र आध्यात्मिक परम्परासँग जोड्ने कार्यमा संस्थाको योगदान उल्लेखनीय रहँदै आएको छ।
यस वर्षको महाशिवरात्रि कार्यक्रम दक्षिण अस्ट्रेलिया सरकारको सहयोगमा आयोजना हुन लागेको हो। आयोजक संस्थाले सबै श्रद्धालु, स्वयंसेवक, पत्रकार तथा शुभेच्छुकहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आह्वान गरेको छ।


तपाइँको प्रतिक्रीया