२०८२ माघ ३० बिहीबार

एडिलेडमा सातौँ वार्षिक ‘होली महोत्सव एडिलेड २०२६’ भव्य रूपमा हुँदै

  • admin २०८२ माघ ३० बिहीबार

एडिलेड,अस्ट्रेलिया — रङहरूको पर्व होली अर्थात फागु पूर्णिमा यस वर्ष पनि एडिलेड नेपालको आयोजनामा ‘होली महोत्सव एडिलेड २०२६’ का रूपमा भव्य रूपमा मनाइने भएको छ। कार्यक्रम शनिबार, २८ फेब्रुअरी २०२६ मा Mitchell Park Oval, 139 Bradley Grove, Mitchell Park मा दिउँसो २ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।

एडिलेड नेपालका अध्यक्ष कबिर पोखरेलका अनुसार, “यो महोत्सवले नेपाली संस्कृति, परम्परा र पहिचानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै बहुसांस्कृतिक समाजमा नेपाली समुदायको उपस्थितिलाई अझ मजबुत बनाउनेछ। सातौँ संस्करणको रूपमा आयोजना हुन लागेको यस महोत्सवले प्रेम, सद्भाव र एकताको सन्देश फैलाउने विश्वास लिएका छौँ।”

यस वर्षको महोत्सवमा नेपालका चर्चित गायक तथा कलाकारहरूको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने निश्चित भएको छ। आधुनिक तथा लोकसंगीत क्षेत्रमा फरक पहिचान बनाएका रमेशराज भट्टराई आफ्ना ऊर्जा भरिएका प्रस्तुति र लोकप्रिय गीतमार्फत दर्शकलाई झुमाउने कलाकारका रूपमा परिचित छन्। Voice of Nepal Season 6 का विजेता प्रोशेष पाण्डे आफ्नो सशक्त स्वर, भावनात्मक प्रस्तुति र युवामाझ लोकप्रियताका कारण महोत्सवका मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ। त्यस्तै, ‘पहेंलो लिरियो’, ‘झिल्को’ लगायतका चर्चित गीतमार्फत लोक तथा आधुनिक संगीतको सेतु बनेका गायक–संगीतकार अर्जुन सापकोटा पनि कार्यक्रममा सहभागी हुँदैछन्। आधुनिक पप तथा लोकशैलीमा सफल गायिका एलेना चौहान ‘के माया लाग्दैन र’, ‘धोकेबाज हो तिमी’ जस्ता हिट गीतमार्फत युवा पुस्तामाझ निकै लोकप्रिय छिन्, र उनको प्रस्तुति पनि दर्शकका लागि विशेष आकर्षण रहनेछ।

आयोजकहरूले यस वर्ष करिब १० हजार दर्शक सहभागी हुने अपेक्षा गरेका छन्। एडिलेड नेपालले सन् २०१८ देखि निरन्तर होली महोत्सव आयोजना गर्दै आएको छ। Marion Council ले २०२४ मा आयोजित महोत्सवलाई “Event of the Year” घोषणा गरेको थियो भने यस वर्ष पनि कार्यक्रम फाइनलिस्टका रूपमा छनोट भएको छ। एडिलेड नेपालका पूर्व अध्यक्ष पुष्कर कोईरालाका अनुसार, नेपाली मात्र नभई गैर–नेपाली समुदायको समेत उल्लेखनीय सहभागिता रहने भएकाले राज्य सरकार र स्थानीय काउन्सिलको सक्रिय सहयोग निरन्तर प्राप्त हुँदै आएको छ।

निःशुल्क प्रवेश रहेको कार्यक्रममा रङ खेल्ने व्यवस्था, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, व्यवसायिक स्टल तथा नेपाली तथा अन्तर्राष्ट्रिय खानाका परिकार उपलब्ध हुनेछन्। तर, बाहिरबाट रङ ल्याउन निषेध गरिएको छ। अध्यक्ष पोखरेलका अनुसार, “काउन्सिलद्वारा परीक्षण तथा स्वीकृत सुरक्षित रङ मात्र प्रयोग गर्न पाइनेछ, किनभने असुरक्षित रङले छालामा असर पार्न सक्छ।”

Ikon Institute of Australia र Connect Education & Migration Adelaide Title Sponsors रहेको यस सातौँ संस्करणको होली महोत्सवमा सहभागी भई रंग, संगीत, संस्कृति र मित्रताको अनुपम अनुभव लिन आयोजकहरूले सम्पूर्ण नेपाली समुदाय तथा बहुसांस्कृतिक समाजलाई हार्दिक निमन्त्रणा गरेका छन्।