२०८२ फागुन १ शुक्रबार

वीर अस्पतालका दुई बरिष्ठ चिकित्सकले एकैदिन दिए राजीनामा

  • admin २०८२ फागुन १ शुक्रबार

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका दुई वरिष्ठ चिकित्सकले एकै दिन राजीनामा दिएका छन् । डर्माटोलोजी विभागकी प्रमुख डा. लैला लामा र प्रा.डा. अनुपमा कार्कीले १५ माघदेखि लागू हुने गरी राजीनामा दिएको वीरका निर्देशक डा. दिलिप शर्माले जानकारी दिए ।

राजीनामाअघि डा. कार्की न्याम्सको कार्यकारी परिषद् सदस्यका साथै प्राध्यापकका रूपमा कार्यरत थिइन् । उनले डर्माटोलोजी एमडी कार्यक्रमको संयोजक, वीर अस्पतालको डेपुटी निर्देशक तथा विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

२५ वर्षअघि इन्टर्नका रूपमा वीर अस्पतालमा प्रवेश गरेकी उनले न्याम्सबाटै डर्माटोलोजीमा एमडी उत्तीर्ण गरेपछि सोही विभागको नेतृत्व सम्हाल्ने अवसर पाएकी थिइन् ।

२२ वर्षदेखि वीर अस्पतालमा कार्यरत डा. लैला लामाले पनि राजीनामा दिएकी छिन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले न्याम्सबाटै डर्माटोलोजीमा एमडी गरेकी थिइन् । राजीनामाअघि उनी न्याम्सकी एसोसिएट प्रोफेसर थिइन् ।

छालारोग विभागका दुई वरिष्ठ चिकित्सकको बहिर्गमनले वीर अस्पतालको डर्माटोलोजी सेवामा असर पर्ने देखिएको छ ।

‘उहाँहरूले पारिवारिक कारणले गर्दा राजीनामा दिनुपर्ने उल्लेख गर्नुभएको छ,’ डा. शर्मा भन्छन्, ‘दुई दशक बढी काम गर्नुभएका अनुभवी चिकित्सकले राजीनामा दिँदा सेवामा असर पर्ने देखिन्छ ।’