एडिलेड । दक्षिण अष्ट्रेलियाको एडिलेडमा बहुसांस्कृतिक समुदायबीच मैत्री, प्रतिस्पर्धा र महिला सशक्तीकरणको सन्देश बोकेको महिला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। Adelaide Nepali Cricket Association (ANCA) (एन्का) द्वारा आयोजित ‘एलसिए एन्का फ्रेन्डसिप कप २०२६’ को फाइनल खेलमा एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुपले विश्व हिन्दु परिषद क्रिकेट क्लबलाई ६ रनले पराजित गर्दै उपाधि जितेको हो।
स्थानिय फोबोस प्राईमरी स्कुलको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तानी टोलीले निर्धारित ओभरमा ८९ रन बनाएको थियो। जवाफी इनिङ्समा उत्रिएको विश्व हिन्दु परिषद क्रिकेट क्लबले अन्तिमसम्म संघर्ष गरे पनि ८६ रनमै सीमित भएपछि उपाधि हात पार्न असफल भयो। खेल अन्तिम ओभरसम्म रोमाञ्चक बनेको थियो।

प्रतियोगिताकी उत्कृष्ट खेलाडीका रूपमा मोनेमा यावर घोषित भइन्। लिग चरणदेखि नै निरन्तर प्रभावशाली प्रदर्शन गर्दै आएकी उनले फाइनलमा पनि महत्वपूर्ण योगदान दिएकी थिइन्।
यस वर्षको संस्करणमा सार्क क्षेत्रका चार देशको प्रतिनिधित्व गर्ने चार सामुदायिक टोली सहभागी थिए—विश्व हिन्दु परिषद क्रिकेट क्लब, एडिलेड पाकिस्तानी मल्टिकल्चर ग्रुप, नेपाली टिम एन्का सनसाइन र श्रीलंका सामुदायिक क्लब। लिग चरणको प्रतिस्पर्धापछि शीर्ष दुई टोली फाइनलमा पुगेका थिए। गत वर्षदेखि एन्काले महिलाहरूको क्रिकेट विकास, प्रतिभा पहिचान तथा प्रिमियर स्तरसम्मको यात्राका लागि प्लेटफर्म तयार गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्दै आएको जनाएको छ। फाइनलपश्चात आयोजित पुरस्कार वितरण समारोहमा विजेता र उपविजेता टोलीलाई कप तथा मेडल प्रदान गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै एन्का अध्यक्ष विजय जोशीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, स्वयंसेवक र प्रायोजकहरूप्रति आभार व्यक्त गरे। उनले महिला क्रिकेटलाई संस्थागत रूपमा अगाडि बढाउने र बहुसांस्कृतिक समुदायबीच सहकार्यको वातावरण मजबुत बनाउने लक्ष्य रहेको बताए। कार्यक्रम एन्का कार्यसमिति सदस्य बिनिता जोशीले सञ्चालन गरेकी थिइन्। विजेता टोलीकी कप्तान सुबिया सोहेब तथा उपविजेता टोलीकी कप्तान धारा धवनले खेल भावना र मित्रताको उदाहरण प्रस्तुत गर्दै एकअर्कालाई बधाई दिएका थिए।
महिला खेलकुद क्षेत्रमा सक्रिय खेल पत्रकार जेनी सेमसङ तथा मुख्य प्रायोजक लिभेबिलिटी केयर अष्ट्रेलिया (एलसिय) का निर्देशक विक्की मार्कले खेलाडीहरूलाई शुभकामना दिँदै आगामी वर्षहरूमा पनि सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका थिए।एडिलेडजस्तो बहुसांस्कृतिक सहरमा महिला क्रिकेटमार्फत समुदायलाई एकै मैदानमा उभ्याउने यो प्रयासले खेलकुदलाई सामाजिक एकताको सेतुका रूपमा स्थापित गर्ने संकेत दिएको छ।



तपाइँको प्रतिक्रीया