२०८२ फागुन ५ मङ्गलबार

विष्णु हमाल पुनः अध्यक्ष निर्विरोध, ‘मिनी नेपाल’ निर्माणका लागि कम्तिमा ५ हेक्टर जग्गा खोजी सुरु हुने

  • admin २०८२ फागुन ५ मङ्गलबार

सिड्नी । नेपालीको आफ्नै सांस्कृतिक स्थल निर्माण गर्ने उद्देश्यसहित स्थापना भएको ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको साधारण सभाबाट संस्थापक अध्यक्ष विष्णु हमाल पुनः अध्यक्षमा निर्विरोध चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा उमेश पन्त र देवबहादुर गुरुङ, महासचिवमा डा. प्रकाश पौडेल, कोषाध्यक्षमा प्रकाश वस्ताकोटी तथा सहकोषाध्यक्षमा अमृत आचार्य चयन भएका छन्। सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्स साह, विजय पौडेल उपाध्याय र प्रीति शर्मा रहेका छन्। बाँकी दुई सदस्य पछि मनोनयन गरिने जनाइएको छ।

साधारण सभापछि अध्यक्ष हमालले न्यूसाउथवेल्सभर रहेका नेपाली संघसंस्थासँग सहकार्य गर्दै सदस्य संख्या २ हजार पुर्‍याउने र यसै वर्ष कम्तीमा ५ हेक्टर जग्गा प्राप्तिका लागि पहल गर्ने योजना सार्वजनिक गरे। जग्गा खोजीका लागि छुट्टै टिम गठन गरिने र विभिन्न काउन्सिल, न्यूसाउथवेल्स तथा संघीय सरकारसँग छलफल अघि बढाइने उनले बताए। आगामी दुई वर्षका लागि रोडम्याप तयार पारिएको र कार्यसमितिको छलफलपछि सार्वजनिक गरिने जानकारी पनि उनले दिए।

कोषाध्यक्ष प्रकाश वस्ताकोटीका अनुसार कथा वाचक दिनबन्धु पोखरेलको उपस्थितिमा आयोजित महायज्ञमा ८८ जना दाताबाट प्रतिबद्ध गरिएको २० लाख अष्ट्रेलियन डलरभन्दा बढीमध्ये हालसम्म १ लाख ३६ हजार डलर संकलन भइसकेको छ। साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार संस्थाको कोषमा हालसम्म ९ लाख डलर जम्मा भएको छ।

कार्यक्रमका प्रमुख अतिथि न्यूसाउथवेल्सका अवैतनिक वाणिज्यदूत संजीव शर्माले नेपाली कला, संस्कृति र संस्कार संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता जनाए। लिबरल पार्टीका नेता तथा न्यूसाउथवेल्सका लागि छायाँ बहुसांस्कृति मन्त्री मार्क जोसेफ काउरेले ‘मिनी नेपाल’ निर्माण अभियानमा सहयोग रहने विश्वास व्यक्त गर्दै यसले अष्ट्रेलियाली समुदायलाई नेपाली समाज बुझ्न सहयोग पुग्ने बताए। यसैगरी कार्यक्रममा वरिष्ठ समाजसेवी इन्दिरा बन, एनआर एन ए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, एनआर एन ए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष अनिल पोख्रेल, फेन्का अष्ट्रेलियाका अध्यक्ष डा. मधु पुडासैनी, एन आर एन ए ओसिनियाका पूर्व संयोजक दिनेश पोख्रेल लगायतले आफ्नो मन्तव्य राख्दै नेपाली कला, संस्कृति, परम्परा, इतिहास र संस्कृतिलाई जिवन्त राख्ने लक्ष्य सहित सुरु गरिएको मिनी नेपाल निर्माणको असल कार्यका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । यसैगरी कार्यक्रममा काउन्सिलर समिर पाण्डे, न्यू साउथ वेल्थ सरकारका बाला निर्मानुसन र थिदा याङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई लक्ष्मी बस्ताकोटीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थालाई स्थापना कालदेखि सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने नेपाली बालबालिकाले गीत, संगीत र नृत्यमार्फत सांस्कृतिक प्रस्तुति दिएका थिए।