२०८२ फागुन ५ मङ्गलबार

नेपाली भजन कीर्तन समूह एडिलेडद्वारा महाशिवरात्रि विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

  • admin २०८२ फागुन ५ मङ्गलबार

एडिलेड, अष्ट्रेलिया — नेपाली भजन कीर्तन समूह एडिलेडको आयोजनामा महाशिवरात्रिको पावन अवसरमा सम्पन्न व्रतपूजा तथा भजन–कीर्तन कार्यक्रम भव्य, श्रद्धामय र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। क्लोभर्ली पार्कस्थित कोस्ग्रोभ हलमा आयोजित कार्यक्रममा दक्षिण अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

फेब्रुअरी ,१५ आइतबार सम्पन्न कार्यक्रममा स्वस्तिवाचनबाट प्रारम्भ भई विधिपूर्वक पूजा, रुद्राभिषेक, आरती, पुष्पाञ्जली, भजन–सङ्कीर्तन तथा प्रसाद वितरण गरिएको थियो। विशेष पूजाअर्चनामा गुरु मुरारी सुवेदी (शास्त्री) ले वैदिक विधिअनुसार पूजा सम्पन्न गराउँदै महाशिवरात्रिको आध्यात्मिक महत्त्व र व्रतको मर्मबारे प्रेरणादायी प्रवचन दिनुभएको थियो।

कार्यक्रमको प्रमुख आकर्षणको रुपमा यहाँ हुर्के बढेका दोस्रो पुस्ताका नानीबाबुहरूको भजन किर्तन रहेको थियो। भक्ति भावले ओतप्रोत वातावरणमा उपस्थित भक्तजनहरू मन खोलेर नाचेका थिए। बालबालिका, युवा तथा ज्येष्ठ नागरिक सबैले एकसाथ भजनमा सहभागिता जनाउँदै प्रवासमा पनि नेपाली धर्म, संस्कार र सांस्कृतिक एकताको सशक्त उदाहरण प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरूलाई संस्थाको तर्फबाट खादा तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। समुदायको साथ र सहयोगकै कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सबै सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। साथै, उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई संस्थाको तर्फबाट प्रसाद वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै समूहका अध्यक्ष डा. दया पराजुलीले महाशिवरात्रि केवल धार्मिक अनुष्ठान मात्र नभई आत्मशुद्धि, संयम र भक्तिको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले प्रवासमा बसेर पनि आफ्ना मौलिक संस्कार जोगाइराख्न यस्ता सामूहिक कार्यक्रमको महत्त्व झनै बढ्ने बताउँदै सम्पूर्ण समुदायलाई निरन्तर साथ र सहभागिताका लागि धन्यवाद दिनुभयो।

करीब एक दशकदेखि दक्षिण अस्ट्रेलियामा धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतना प्रवर्द्धन गर्दै आएको संस्थाले यस कार्यक्रममार्फत समुदायमा एकता, सद्भाव र आध्यात्मिक ऊर्जा अभिवृद्धि गर्न सफल भएको सहभागीहरूको धारणा रहेको छ। दक्षिण अस्ट्रेलिया सरकारको सहयोगमा सम्पन्न उक्त कार्यक्रम व्यवस्थापन, अनुशासन र भक्तिभावका दृष्टिले अत्यन्त सफल बनेको आयोजकले जनाएको छ।