काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आमनिर्वाचनलाई लक्ष्यित गरेर आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभाबाट पार्टीका प्रमुख नेताहरुले वाचापत्र अनावरण गरे ।
वाचापत्र सार्वजनिक गरिनुअघि पार्टीका उपसभापति तथा अर्थविद डा. स्वर्णिम वाग्लेले यसका केही झलक प्रस्तुत गरेका थिए । वाचापत्रमा मुलुकको नीतिगत प्रस्थानका एक सय आधारहरु प्रस्तुत गरिएको उनले बताए ।
‘राजकाजको जहाजलाई हामी कुन दिशातिर लैजादैछौं भन्ने वाचापत्रमा खुलाइएको छ,’ उनले भने, ‘हामीले अर्थतन्त्रका रोगहरु निदान गरेर सय आधारहरु पेश गरेका छौ । दलमुक्त राज्य संयन्त्र, सरकारी सेवामा लाइन होइन, अनलाइन, राज्यप्रति नागरिकको भरोसा र विश्वास बढाउने कार्यक्रमहरु छन् ।’ उनले भने ।
वाग्लेले दशकौंदेखि थाँति राखेका अर्थतन्त्रका सुधारहरु अघि बढाइने बताए । विकासका लागि बाधक बनिरहेका दर्जनौं ऐन र नियमावली एकैपटक खारेज गरिने उनले घोष्णाा गरे ।
वाग्लेले थपे, ‘निजी क्षेत्र हाम्रो साझेदार र सारथी हुनेछ । सबै करहरुको बोझ घटाउने छौं । झण्झटीला प्रक्रियाको जालो च्यात्नेछौं । दैलो दैलोमा सरकार पुग्ने छ ।’
रास्वपाले अबको १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने प्रण गरेको छ । स्थिर मूल्यमा कम्तिमा वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर ५ प्रतिशत निरन्तर कायम गर्ने वाग्लेले दावी गरे । ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याइने उनले बताए ।
‘नेपालको गतिशील अर्थतन्त्रलाई ५ देखि ७ वर्षमा प्रचलित मूल्यमा मापन गर्दा १ सय अर्ब डलरको अर्थतन्त्र बनाउने प्रण गरेका छौं,’ उनले भने ।

तपाइँको प्रतिक्रीया