२०८२ फागुन १० आइतबार

पर्थमा ‘होली फेस्टिभल २०२६’ को भव्य तयारी -रङ, संगीत र एकताको उत्सव

  • admin २०८२ फागुन ९ शनिवार

पर्थ, वेस्टर्न अस्ट्रेलिया — फागु पूर्णिमाको अवसर पारेर आगामी १ मार्च २०२६ मा पर्थको म्यानिङ पार्कमा ‘होली फेस्टिभल २०२६’ भव्य रूपमा आयोजना हुने भएको छ। नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क (NAWA Inc.) को आयोजनामा हुने उक्त महोत्सव दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ र प्रवेश सबैका लागि निःशुल्क रहने जनाइएको छ।

आयोजकका अनुसार यस वर्षको होली केवल रङ खेल्ने परम्परागत कार्यक्रम मात्र नभई सांगीतिक, सांस्कृतिक तथा बहुसांस्कृतिक सहभागितासहितको व्यापक सामुदायिक उत्सवका रूपमा मनाइँदैछ। पर्थ तथा आसपासका क्षेत्रबाट हजारौँ नेपालीसहित अन्य समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका लोकप्रिय कलाकारहरूको लाइभ प्रस्तुति रहनेछ। ‘झलिको’ लगायतका गीतमार्फत चर्चामा रहेका गायक अर्जुन सापकोटा र ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का विजेता प्रोशेष पाण्डेको प्रस्तुति रहनेछ। उनीहरूका चर्चित गीतसँगै लाइभ ब्याण्ड, डिजे सङ्गीत तथा विविध सांस्कृतिक कार्यक्रमले वातावरणलाई अझ उल्लासमय बनाउने तयारी गरिएको छ।

पछिल्ला वर्षहरूमा पर्थमा होली उत्सवले उल्लेखनीय सहभागिता पाएको सन्दर्भमा यसपटक अझ व्यवस्थित र फराकिलो स्वरूपमा कार्यक्रम गर्न लागिएको NAWA Inc. ले जनाएको छ। यस महोत्सवलाई समुदायबीच एकता, सद्भाव र सांस्कृतिक पहिचान सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ। कार्यक्रमलाई परिवारमैत्री र सुरक्षित ढङ्गले सञ्चालन गरिने आयोजकले जनाएको छ। व्यवस्थित रङ खेल्ने वातावरण, नेपाली तथा अन्तर्राष्ट्रिय परिकारसहितका खाद्य स्टल, तथा बालबालिकादेखि युवासम्मका लागि मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछन्।

आयोजक संस्थाका अध्यक्ष नवीन भण्डारीले सम्पूर्ण समुदायलाई उपस्थित भई रङ, संगीत र सद्भावको यो पर्व हर्षोल्लासपूर्वक मनाउन हार्दिक आह्वान गरेका छन्। “Let’s colour the city, celebrate together, and create history” भन्ने सन्देशसहित आयोजना हुन लागेको यो महोत्सव वेस्टर्न अस्ट्रेलियामा नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र सामुदायिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।