काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् । उनका अनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने छ ।
घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेका कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सावित्राले सामाजिक सञ्जालमार्फत बताएकी छन् । चोट गम्भीर रहेको र पछिल्लोपटक कतारको अस्पेटारमा गरिएको उपचार उच्चस्तरको रहेकाले पुनः सोही अस्पतालमा उपचार गराउने उनको इच्छा छ ।

सावित्राले उपचारका लागि एन्फा र सरकारबाट सहयोग नपाएको गुनासो गरेकी छन् । ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैँले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैँ गर्न भन्नुभएको थियो । यसअघि मैले चालेको प्रक्रिया रोकियो, झण्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरि प्रयास गर्नुपर्ने भएको छ,’ उनले भनिन् ।
सरकारी प्रक्रियासमेत अपेक्षा गरेअनुसार अघि बढ्न नसकेको सावित्राले दु:खेसो गरिन् । ‘सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर, सरकारी प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न नसक्दा मैले भर परेर बस्न सक्ने स्थिति छैन,’ उनले लेखेकी छन् ।
वेलिङ्टन फिनिक्सबाट अस्ट्रेलियन ‘ए’ लिग खेल्ने क्रममा डेढ महिनाअघि ब्रिसबेन रोअरकी गोलकिपरसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएलमा गम्भीर चोट लागेको थियो ।

तपाइँको प्रतिक्रीया