काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट चुनावअघिको अन्तिम सार्वजनिक सम्बोधन गर्ने भएका छन् ।
शनिवार रोल्पाको सदरमुकाम लिबाङ टुँडिखेलमा उनले चुनावका लागि सार्वजनिक अपिल गर्ने नेपाली कम्युनिस्ट पार्टी रोल्पाका इन्चार्ज राजबहादुर बुढाले जानकारी दिए । चुनावअघि देशभर कुनै ठुला कार्यक्रम नरहेको र रोल्पाबाट सार्वजनिक सन्देशसहित चुनावी सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डको सम्बोधनलाई भौतिकरुपमा पनि भव्य बनाउन नेपाली कम्युनिस्ट पार्टी रोल्पाले व्यापक तयारी गरेको जिल्ला इन्चार्ज राजबहादुर बुढा बताउँछन् । उनकाअनुसार शनिवार लिबाङमा करिब १५ हजार मानिसले प्रचण्ड सहभागी कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्नेछन् ।
‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपाली क्रान्तिका नायक प्रचण्डले रोल्पाबाट चुनावी सम्बोधन गर्नु आफैमा अर्थपूर्ण हुनेछ’ पार्टीका जिल्ला इन्चार्ज बुढाले भने, ‘रोल्पाबाटै निर्णायक अवस्थामा सम्बोधन गर्नु रोल्पालीप्रतिको उहाँको सम्मान पनि हो भन्ने हामीले बुझेका छौँ ।’
दश वर्षे जनयुद्धको थालनी रोल्पाबाटै भएको र जनयुद्धको ऐतिहासिक उपलब्धिहरूमा रोल्पालीको भूमिका महत्त्वपूर्ण रहेकाले स्वयम् प्रचण्डले रोल्पामा टेकेर सम्बोधन गर्न लागेका हुन्। जनयुद्धका अधिकांश समय प्रचण्डले रोल्पामा बिताएका थिए ।
रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा वर्षमान पुन रोल्पाबाट उम्मेदवार रहेका छन् । शनिवार लिबाङमा हुने चुनावी सभामा पार्टीका संयोजक दाहालका साथै रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले पनि सम्बोधन गर्नेछन् ।
त्यससँगै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगर लगायत पार्टीका केन्द्रीय नेताहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ ।

तपाइँको प्रतिक्रीया