२०८२ फागुन १५ शुक्रबार

मलाई भोट दिनु प्रधानमन्त्री चुन्नु हो : हर्क साम्पाङ

  • admin २०८२ फागुन १५ शुक्रबार

काठमाडौं। हर्कराज साम्पाङ राईले प्रतिनिधिसभाको चुनावमा सुनसरी १ बाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्षलाई भोट दिनु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट दिएसरह भएको बताएका छन् ।

धरान उपमहानगरपालिकाको मेयर हुँदैमा श्रम संस्कृति पार्टी र हर्कवाद जन्माएका उनले गृहनगरमा पहिलो पटक चुनावी आमसभा गर्दै सुनसरी १ बाट श्रम संस्कृति पार्टीका उम्मेदवारलाई भोट हाल्नु भनेको प्रधानमन्त्रीको उम्मेदवारलाई भोट हाल्नु भएको बताएका हुन् ।

भानुचोकमा आयोजित चुनावी आमसभामा उनले जेनजी विद्रोहका बारेमा बोल्दै भने, ‘सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन षडयन्त्र गरेर जलाइएको छ । नौ, दश कक्षा, प्लसटु पढिरहेकाले जलाउन सक्छ ? षडयन्त्रमा संलग्न बालेनजीहरु थिए । यसरी देश जलिरहेको बेला, ढलिरहेको बेला देश बचाउन जाने को हो ? त्यो मान्छेको नाम बिर्सें । त्यो मान्छे को हो ? (भाषण सुन्न बसेकाहरूले भने हर्कराज साम्पाङ) हो त्यो मान्छे हो देश बचाउने ।’

उनले देश बचाउनकै लागि श्रम संस्कृति पार्टी खोलेको पनि बताए । उनले भने, ‘यो देशलाई बचाउन भनेर श्रम संस्कृति पार्टी खोलेर अध्यक्ष भएको हो । त्यसैले तपाईंहरुले मलाई र श्रम संस्कृति पार्टीका उम्मेदवारलाई जिताउन भोट दिनुपर्छ ।’

उनले आफ्नो पाटी कुनै विदेशीले दिएको पैसाले नचल्ने उल्लेख गर्दै भने, ‘हाम्रो पार्टी संघीयता, लोकतन्त्र र प्रत्यक्ष कार्यकारी प्रमुखमा विश्वास गर्छ । समानुपातिक र समावेशितामा विश्वास गर्छ । प्रकृति, संस्कृति र प्रविधिमा विस्वास गर्छ ।

तर म विदेशी प्रभूलाई ढोगेर राजनीति गर्न चाहान्न । जेनजी विद्रोहपछिको अन्तरिम सरकारमा यति म प्रधानमन्त्री भएको भए यतिबेला प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गराउथें ।’

उनले अधिकांश युवाहरु विदेश जाने सन्दर्भसंग जोड्दै श्रम संस्कृति पार्टीको सरकार भएमा विद्यार्थीहरु सातामा ३ दिनमात्र स्कुल जाने व्यवस्था गरेर बांकी समय श्रम र उत्पादनको शिक्षा दिने नीति बनाउने बताए ।

उनले भने, ‘विदेशी हस्तक्षेप मुक्त देश बनाउने छौं । सीमा सुरक्षाका लागि प्लस टु गरेपछि अनिवार्य ६ महिना सैनिक तालिम लिने व्यवस्था गर्ने छौं ।’